चाँदनी आचार्य
घोडाघोडी (कैलाली), चैत ३० गते । जैविक विविधताले महत्त्वपूर्ण तथा प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र घोडाघोडी क्षेत्रमा सङ्घ, प्रदेश स्थानीय सरकारको लगानीमा थुप्रै विकास निर्माणका काम भएका छन् ।
ठुला–ठुला योजनामा बजेट छुट्याइ काम भए पनि हेर्दा सानो लाग्ने समस्यासँग जोडिएको क्षेत्रमा हालै युवाहरूले नमुनायोग्य काम गरेका छन् ।
घोडाघोडी तालसँगै जोडिएको घोडाघोडी मन्दिर सबैको धार्मिक आस्थाको केन्द्र हो । यहाँ विभिन्न पर्व तथा विशेष दिनमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । मन्दिर प्रवेशद्वारबाट मन्दिरसम्म पुग्ने सिढींमा रेलिङ नहुदा बृद्ध, महिला, बालबालिकालाई असहजता थियो । सोही बाध्यतालाई मध्यनजर गर्दै यहाँका युवाको सक्रियतामा सिढींमा रेलिङ लगाउने काम भएको छ ।
रेलिङ निर्माणमा स्थानीय नबीन क्षेत्री, राम पौडेल र नारायण आचार्यको महत्त्वपूर्ण भूमिका रहेको छ । सामाजिक सञ्जालबाट स्वच्छैकि सहयोग आव्हान गरेर अपुग रकम आफूहरूले थप गरेर रेलिङ निर्माण गरेको नारायण आचार्यले बताउनुभयो ।
घोडाघोडी तालमा फोटोग्राफरको रूपमा काम गर्ने आचार्यले सबैको सानो–सानो सहयोगले उदाहरणीय काम गर्न सकिने उल्लेख गर्दै मन्दिर क्षेत्रलाई सरसफाई, रङरोगन गर्दै नयाँ वर्षलाई स्वागत गर्न थालेको बताउनुभयो ।
उहाँले घोडाघोडीमा आउने पर्यटकका लागि मन्दिर दर्शन गर्न सहजताका लागि आफूहरूले रेलिङ निर्माण गरेको बताउनुभयो । पछिल्लो समय घोडाघोडीका युवाहरू घोडाघोडी युवा युनिटी नामक सञ्जाल बनाएर सामाजिक कार्यमा जुट्न थालेका छन् ।
हातमा भएको मोबाइललाई सही रूपमा प्रयोग गर्दै दुःखमा परेकाहरूका लागि सहयोग जुृटाउनेदेखि सरसफाइ, लागु औषध दुव्र्यसनविरुद्धका अभियानमा उनीहरू सक्रिय हुन थालेका हुन् ।