• ३० चैत २०८२, सोमबार

जैमिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मेलन

blog

सम्मेलनमा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरू । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत ३० गते । स्थानीय तहमा न्याय सम्पादन र मेलमिलापलाई सहज बनाउने लक्ष्यसहित दक्षिण बागलुङको जैमिनी नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाको सम्मेलन सम्पन्न भएको छ । 

जैमिनी नगरका १ सय ३८ महिला स्वास्थ्य स्वयंसेविका सहभागि सम्मेलनले ११ बुँदे घोषणा पत्र समेत जारी गरेको छ । गाउँघरमै मेलमिलापको असल अभ्यासका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरूको सम्मेलन गरिएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । 

‘‘स–साना विवादहरू ग्रामीण क्षेत्रमै महिला स्वास्थ्य स्वयंसेविकाले मेलमिलाप गराउन सक्ने भएकोले सम्मेलनमार्फत महिला सशक्तीकरणको कार्यक्रम गरिएको हो’’ शर्माले भन्नुभयो । 

सम्मेलनमा महिला स्वास्थ्य स्वयंसेविकाका प्रतिनिधिहरूले समाजमा भएका विभिन्न घटना र हालसम्म गरेका कामबारे प्रस्तुतीकरण समेत गर्नुभएको थियो । 

गाउँमा मेलमिलाप गराएमा अदालत धाउँदा हुने खर्च जोगिने, ठुला विवाद र झगडा हुने दर क्रमशः घट्दै जाने, समाजलाई अपराधमुक्त बनाउन सकिने उपप्रमुख शर्माको भनाइ छ । 

स्थानीय तहले न्यायिक समितिमार्फत साना विवाद र एक वर्ष सम्मको कैद सजायका मुद्दाको छिनोफानो गर्ने अधिकार पाएको छ । सम्मेलनमा स्वयंसेविकालाई कानुनी साक्षरता र उत्प्रेरक्षणा सम्बन्धी तालिम समेत दिइएको थियो । अधिवक्ता गीता श्रीसले कानुनी साक्षरता र उत्प्रेरक भक्त रसाइलीले उत्प्रेरणा सम्बन्धी सहजीकरण गर्नुभएको थियो ।

सम्मेलन जारी गरेको घोषणा पत्रमा समुदायमा देखा पर्ने विवाद तथा असमझदारीलाई संवाद र सहकार्यमार्फत समाधान गर्दै दीगो शान्ति र मेलमिलाप कायम गर्ने उल्लेख गरिएको छ । 

आमा तथा बाल स्वास्थ्य, सरसफाइ, पोषण कार्यक्रमलाई समुदायस्तरमा निरन्तरता दिनुका साथै नियमित स्वयंसेविका संवाद कार्यक्रम सञ्चालन गरी समाजमा देखिने विवादको पहिचान, समन्वय र सहकार्य गरिने भएको छ । 

सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज, समान र गुणस्तरीय पहुँच सुनिश्चित गर्दै समुदायमा शान्तिपूर्ण सहअस्तित्व कायम, नागरिकको सम्मान र समान व्यवहार गरी विवाद समाधानमा पक्षपातरहित भूमिका निर्वाह गर्ने घोषणा पत्रमा उल्लेख छ ।

सामुदायिक मेलमिलापकर्ता, स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायबिच तालिम, अनुभव आदानप्रदान र सहकार्यलाई सुदृढ गर्दैै विद्यालय तथा आमा समूहमार्फत सामुदायिक सचेतना कार्यक्रम चलाउने, महिला, बालबालिका, दलित, अपाङ्गता भएकाहरूको अधिकार संरक्षणमा जोड दिँदै सामाजिक सद्भाव कायम गर्ने सम्मेलनले घोषणा गरेको छ । 

यस्तै, घरदैलो अभियानमार्फत समुदायमा देखिने असमझदारी, लैगिङ्क तथा बालहिंसाका गतिविधिलाई न्यूनीकरण गर्न वडास्तरीय मेलमिलाप समितिसँग समन्वय र सहकार्य गर्ने, दिगो शान्ति, सामाजिक सद्भाव र विकासको आधार मजबुत बनाउन महिला तथा कमजोर वर्गको सशक्तीकरण गर्दै सामाजिक सद्भाव र विश्वासका लागि विवाद समाधानका सफल उदाहरणलाई दस्तावेजीकरण गरी प्रचारप्रसार गर्ने घोषणा पत्रमा उल्लेख गरिएको छ ।