• १५ वैशाख २०८१, शनिबार

तीन महिना सडक खन्न नपाइने

blog

काठमाडौँ, जेठ २८ गते । सडक विभागले विगतमा झैँ यस वर्ष पनि ‘असार १ गतदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने’ सूचना बिहीबार जारी गरेको छ। सो अवधिमा सडक विभागमातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ।

सडक विभागले विगतदेखि नै जेठको अन्त्यतिर यस्तो सूचना सार्वजनिक गर्दै आए पनि नेपाल विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, ढल मर्मत गर्नेलगायतका निकायले सडक विभागको यो सूचनालाई टेर्दैनन्। आफ्नो आवश्यकता अनुसार सडक खन्ने गर्छन्।

कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन–२०३१ अनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिने गरिए पनि सडक विभागले अहिलेसम्म कसैलाई कारबाही गर्न सकेको छैन। सडक विभागले विगत १० वर्षदेखि यसप्रकारको सूचना सार्वजनिक गर्दै आएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको स्पष्ट पार्नुभयो।

उहाँले सडक खन्न नदिने सडक विभागको सूचनालाई यो वर्ष कुनै पनि निकायले अटेर गरेमा कारबाही गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस सूचनालाई अटेर गरी सडक खन्ने निकायको प्रमुख वा कुनै व्यक्तिविशेषलाई सार्वजनिक सडक ऐनअनुसार थुन्न सक्ने तथा आर्थिक जरिवाना गराउन सक्ने उहाँले स्पष्ट पार्नुभयो। सडक विभागको क्षेत्रीय निर्देशकलाई सो अर्धन्यायिक अधिकार रहेको र उहाँले नै थुन्न सक्ने तथा आर्थिक जरिवाना गराउने निर्णय गर्ने सहसचिव थापाले बताउनुभयो।

सडक नखन्न सार्वजनिक सूचना जारी गरिए पनि पाइप फुटेर वा लिक भएर अत्यावश्यक सेवाका रूपमा रहेको खानेपानी वितरणमै समस्या आउन सक्ने भएको अवस्थामा सम्बन्धित निकायले सडक विभागसँग अनुमति लिएर सडक खनी पाइपको मर्मत गर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो।

त्यसै गरी सडकमा खानेपानी वा ढलको पाइप चुहिएको अवस्थामा त्यसको मर्मतसम्भार गर्न दिएन भने सडक झन् बिग्रन सक्ने भएकाले त्यस्तो अवस्थामा सम्बन्धित निकायले अनुमति लिएर सडक खन्न सक्ने उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, “त्यसका अतिरिक्त अरू कुनै कारणले सडक खन्न दिइने छैन। बिजुली वा टेलिफोनको खम्बा गाड्ने प्रयोजनका लागि यस अवधिमा सडक खन्न दिइने छैन।” राजधानीको लैनचोर–महाराजगञ्ज–बुढानीलकण्ठ सडकखण्डमा पानी चुहिएको भन्दै सबैभन्दा बढी सडक खन्ने गरेको पाइएको सडक विभागका पूर्वमहानिर्देशकसमेत रहनुभएका थापाले बताउनुभयो।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले सडक विभागको अनुमतिमा मात्र प्राधिकरणले सडकमा बिजुलीको तार भूमिगत गर्ने तथा सडकपेटीमा खम्बा गाड्ने काम गर्ने गरेको बताउँदै सडक विभागले सडक नखन्न सार्वजनिक सूचना नै जारी गरेको अवस्थामा प्राधिकरणले विद्युत्को तार भूमिगत कार्य भदौ मसान्तसम्म स्थगित गर्ने स्पष्ट पार्नुभयो। मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन एकाइका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले सडक खन्न नपाइने भन्ने सडक विभागको सूचनापछि यस आयोजनाले नयाँ पाइप जडान नगर्ने बताउँदै चुहावट भएको ठाउँमा सडक विभागको अनुमतिले मर्मतसम्भारको काम मात्र गर्ने स्पष्ट पार्नुभयो।