• १३ असोज २०८२, सोमबार

संयोजक प्रचण्डको शुभकामना : राष्ट्रिय एकता सुदृढ होस

blog

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्बिर

काठमाडौँ, असोज १३ गते । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता र सामाजिक सद्भावमा जोड दिनुभएको छ । 

उहाँले विजया दशमीले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन र शोकलाई शक्तिमा बदल्ने प्रेरणा प्रदान गर्ने दृढ विश्वास व्यक्त गर्नुभएको छ । 

सम्पूर्ण नेपालीलाई दशैं लगायतका पर्वहरू सामाजिक एकता र अग्रगमनका पक्षमा संकल्पपूर्वक मनाउन आह्वान गर्दै उहाँले बडा दशैं २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा आमाबुवाप्रति सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

शुभकामना सन्देशमार्फत संयोजक प्रचण्डले नेपालको राजनीतिक अवस्था जटिल मोडमा रहेको उल्लेख गर्दै महान् संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अधूरा रहेका रूपान्तरणका मुद्दाहरूलाई गम्भीर आत्मसमीक्षा सहित सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ । 

उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारीलगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दाहरू अहिले फेरि मुखरित भइरहेको उल्लेख गर्नुभएको छ । 

संयोजक प्रचण्डले जनयुद्धदेखि संविधान निर्माण र कार्यान्वयनसम्म निर्वाह गर्नुभएको जिम्मेवारीलाई निरन्तरता दिँदै वर्तमान तरल परिस्थितिलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउन पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ ।

संयोजक प्रचण्डले पार्टीले संगठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभएको छ । 

उहाँका अनुसार, हालै सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिरमा विशेष महाधिवेशनमार्फत जेन–जीसहित युवाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको र त्यसअनुरूप गृहकार्य भइरहेको छ ।

उहाँले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा दशैंजस्ता सांस्कृतिक अन्तर्घुलनका पर्वहरूले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।