• १३ असोज २०८२, सोमबार

काठमाडौंको भीमसेनस्थान आगलागी

चार घर र एक मन्दिरमा क्षति : पाँचजनाको उद्धार

blog

काठमाडौं महानगरपालिका वडा नम्बर २० भीमसेनस्थान नजिकै लागेको आगो निभाइँदै । तस्बिर : नेपाली सेना

काठमाडौं, असोज १३ गते । काठमाडौं महानगरपालिका वडा नम्बर २०  भीमसेनस्थान नजिकै सोमबार बिहान आगलागीले चारवटा घर र एक निजी मन्दिरमा क्षति  पुर्‍याएको छ । 

आगो पूर्णरूपमा नियन्त्रणमा नआए पनि ९० प्रतिशत आगो निभाइ सकिएको काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “आगो ९० प्रतिशत नियन्त्रणमा आएको छ तर पूर्ण रूपमा निभाउन अझै केही समय लाग्न सक्छ ।’’

काठमाडौं महानगरपालिका–२० भीमसेनस्थानस्थित दुईतले घरमा रहेको कपडाको गोदामबाट आगलागी सुरु भएको थियो ।

 जोशीका अनुसार गोदाममा रहेका कपडा, कार्पेट र अन्य ज्वलनशील सामग्रीका कारण आगो तीव्र रूपमा फैलियो । गोदाममा रहेका ग्यास सिलिन्डरहरू पड्किँदा आगो झन् भयावह बन्यो । आगलागीको कारण इलेक्ट्रिक सर्किट सर्ट भएको हुन सक्ने अनुमान गरिएको छ ।

आगलागी भएको खबर बिहान ४ः४१ मा फोनमार्फत प्राप्त भएको थियो। आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाबाट पहिलो दमकल बिहान ४ः४४ मा र दोस्रो दमकल ५ः०१ मा गरी क्रमशः  महानगरपालिकाका चारवटा दमकल घटनास्थल पुगेको जानकारी काठमाडौं महानगरपालिकाले जनाएको छ । 

त्यसपछि ललितपुर, भक्तपुर र नेपाली सेनाका दमकलहरू समेत गरी जम्मा छवटा दमकल परिचालन गरिएको थियो।

स्थानीय स्वीपरले बिहान फोहोर सङ्कलन गर्न आउँदा आगो देखेपछि सूचना दिनासाथ तत्काल दमकल घटनास्थल पुगेको जोशीले जानकारी दिनुभयो । 

आगलागीबाट प्रभावित चारवटा घरमध्ये एउटा घर पूर्ण रूपमा नष्ट भएको छ भने दुईवटामा ५० प्रतिशतभन्दा बढी क्षति पुगेको छ । बाँकी एउटा घर २५ प्रतिशत जति क्षति भएको प्रारम्भिक अनुमान छ । साथै, प्रभावित घरमाथिको निजी मन्दिर (गुठीको मन्दिर) मा पनि क्षति पुगेको जनाइएको छ । 


क्षतिको पूर्ण विवरण आउन बाँकी छ, यद्यपि स्टिल स्ट्रक्चरका पुराना भवनहरूमा आगोले ठूलो क्षति पुर्‍याएको जनाइएको छ । कपडा निकाल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको जोशीले जानकारी दिनुभयो ।

आगलागीका क्रममा पाँचजनालाई उद्धार गरिएको छ । जसमा दुई जना वयस्क  र तीनजना बालबालिका थिए । नगरप्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीले स्थानीयसँग मिलेर मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम गरिएको छ, महाशाखा प्रमुख जोशीले भन्नुभयो । 

यो पनि पढ्नुहोस

काठमाडौंको भीमसेन स्थानमा भीषण आगलागी