अनिल पराजुली
हेटौँडा, असोज १३ गते । मकवानपुरको भिमफेदी गाउँपालिका –६ स्थित जुरिखेतमा कारले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा चार जना घाइते भएका छन् ।
आइतबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका –२ बस्ने ४५ वर्षीय कौशव भट्टराई, मोटरसाइकल पछाडि बस्ने उहाँको छोरी १० वर्षीय सुकृति भट्टराई घाइते हुनुभएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कौशवको दाहिने खुट्टाको पैताला फर्केको, कम्मर र डाढमा र सुकृतीको टाउकोमा चोट लागेको छ । घाइतेहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
त्यस्तै, कारमा सवार चितवन भरतपुर महानगरपालिका –८ बस्ने ४२ वर्षीय मेनुका आचार्य र सोही स्थानकी १५ वर्षीय अग्रता पौडेल घाइते हुनुभएको छ । मेनुकाको टाउकोमा र अग्रताको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।
भिमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा काठमाडौबाट हेटौँडा आउँदैगरेको बा.प्र.०२–०१६ प ९९५६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको बा १९ च ६०२५ नम्बरको कारको ब्रेक फेल भई मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
कारले ठक्कर दिँदा मोटरसाइकल सडकबाट अन्दाजी एकसय मिटर तल खसेर दुर्घटना भएको छ । कार र कार चालक चितवन भरतपुर महानगरपालिका –८ बस्ने ५० वर्षीय रामचन्द्र पौडेललाई प्रहरीको नियन्त्रणमा लिएको छ ।