• १३ असोज २०८२, सोमबार

महेन्द्रनगर ल्याइए दुईसयबढी खसीबोका

blog

महेन्द्रनगरमा बिक्रीका ल्याइएका खसी बोका । तस्बिरः भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, असोज १३ गते । दसैंको लागि डडेल्धुराबाट यस वर्ष दुईसय बढी खसीबोका बिक्री गर्न महेन्द्रनगर ल्याइएका छन् । डडेल्धुराको परशुराम नगरपालिका –८ का ११ जना स्थानीयहरूले दुईसय बढी खसीबोका बिक्रीका लागि महेन्द्रनगरमा ल्याएका हुन् । 

परशुराम नगरपालिका –८ जोगबुडाका जयबहादुर बोहरा खसीबोकासहित दुई दिनको पैदल यात्रागरी शनिवार महेन्द्रनगर बजार पुग्नुभयो । परशुरामस्थित जोगबुडाबाट आफुले पालेका र अन्तबाट किनेकासहित उहाँले ४० खसीबोका बिक्रीका लागि महेन्द्रनगर ल्याउनुभएको छ । हिन्दु धर्मावलम्बीको महान् चाड दसैँको लागि उहाँले खसीबोका बिक्री गर्न महेन्द्रनगर पुगेको बताउनुभयो । 

विगत १५ वर्षदेखि खसीबोकाको कारोबार गर्दैआएका उहाँ यस वर्ष भने सोचेअनुरूप दररेट र कारोबार नहुने भन्दै चिन्तित छन् । विगत २–३ वर्षयता खसीबोकाको कारोबार घट्दोक्रममा रहेको उहाँले सुनाउनुभयो । “१५ वर्षदेखि महेन्द्रनगरमा खसिबोका बिक्री गर्न आउनेगरेको छु, उहाँले भन्नुभयो, ‘दुई–तीन वर्षयता भारतबाट समेत खसिबोका ल्याइँदा कारोबार घट्दै गएको छ ।”

बोहरासँगै परशुराम नगरपालिका –८ का गणेश जाग्रीले पनि यस वर्ष ३७ खसीबोका बिक्रीका लागि महेन्द्रनगर ल्याउनुभएको छ । सस्तो मूल्यमै खसीबोका दिनुपरेको उहाँले सुनाउनुभयो । यसैगरी परशुराम नगरपालिका –८ सानखोलाका सुरे टमाटाले पनि यस वर्ष ३५ खसीबोका बिक्रीका लागि महेन्द्रनगर बजारमा ल्याउनुभएको छ । 

यहाँ खसीबोका राख्न उचित स्थान नहुँदा सडक छेउ, खुला चौरमा राख्नुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । सडकछेउमै रातदिन बसेर खसीबोका राखेका उनीहरू सोचेअनुरूप कारोबार नभएको बताउँछन् । ३६ खसीबोका बिक्रीका लागि ल्याउनुभएका डम्बर बोहराले प्रतिकेजी ५ सयदेखि ६ सयका दरले बिक्री गर्नुपरेको बताउनुभयो । 

भारतबाट ल्याएका खसीबोका कम मूल्यमा बिक्री गर्न थालेपछि आफूहरूले पनि यस वर्ष कम दाममा बिक्री गर्नुपरेको उहाँले सुनाउनुभयो । शनिवार महेन्द्रनगर पुगेका उनीहरूले खसीबोका राख्ने उचित वासस्थानको अभाव हुँदा सडक छेउमै बास बस्नुपर्ने अवस्था रहेको बताएका छन् । 

खसीबोकाको कारोबार गर्दै आउनुभएका जयबहादुर बोहराले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल नजिकको सडक छेउमा खसीबोका राखेर बिक्री गर्दैआएको बताउनुभयो । यहाँको स्थानीय सरकारले आफूहरूलाई उचित स्थान छुट्याइदिएमा सहज हुने उनीहरूले बताएका छन् ।

व्यवसायीहरूले खसीबोकाको कारोबार गरेर चाडपर्व र वर्षभरिको खर्च धान्दै आएको बताएका छन् । चाडपर्वको बेला टाढा लगेर पनि खसीबोका बिक्री गरी घर खर्च चलाउँदै आएको उनीहरू बताउँछन् ।