• १३ असोज २०८२, सोमबार

वैज्ञानिक डा. चन्दलाई ३२ लाख डलरको अनुदान

blog

नेपालीमूलका वैज्ञानिक डा. गणेश चन्द ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १३ गते । अमेरिकाको मिजौरी राज्यस्थित सेन्टलुइसमा बसोबास गर्दैआएका नेपाली मुलका वैज्ञानिक डा. गणेश चन्दले ३२ लाख अमेरिकी डलर अर्थात साढे चार अर्ब रुपियाँभन्दा बढीको अनुदान सहायता प्राप्त गर्नुभएको छ ।  

अल्जाइमर रोगसम्बन्धी एक विशेष अनुसन्धानका लागि अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले यो अनुदान सहायता उपलब्ध गराएको हो । डा. चन्दको नेतृत्वमा रहेको अनुसन्धान टोलीले अल्जाइमर रोगसम्बन्धी अनुसन्धान गर्न चार वर्षका लागि यो अनुदान सहायता प्राप्त गरेको बताइएको छ । डा. चन्द म्यालिनव्रmोट इन्स्टिच्युट अफ रेडियोलोजीका सहायक प्राध्यापक हुनुहुन्छ । 

नयाँ कृत्रिम बुद्धिमता प्रविधि (एआई) को विकास गरेर ठुलो स्तरको चिकित्सा स्क्यान, व्यवहारिक, क्लिनिकल (बिरामीको उपचार र हेरचाहसँग सम्बन्धित) र अनुवांशिक तथ्याङ्क अध्ययन गर्नेछ । 

अल्जाइमर रोगबाट हुने मानसिक समस्याको वास्तविक कारण पत्ता लगाउनुको साथै यसको निदान तथा उपचारको उपायका बारेमा डा. चन्द नेतृत्वको टोलीले अनुसन्धान गर्नेछ । अल्जाइमर रोगले मानिसको सम्झने शक्ति कमजोर बनाएर विभिन्न मानसिक रोग निम्त्याउने गर्छ । 

अल्जाइमर रोगले कसरी मानिसको व्यवहारमा परिवर्तन ल्याउँछ भन्ने विषयमा चिकित्सकको टोलीले अनुसन्धान गर्नेछ । अमेरिकामा अल्जाइमर रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । अमेरिकाको चिकित्सा क्षेत्रमा परिचित डा. चन्दलाई अल्जाइमर रोगका विषयमा अनुसन्धानका लागि नेतृत्व दिनु र यति धेरै रुपियाँको अनुदान सहायता उपलब्ध गराउनु नेपालीको लागि गर्वको विषय रहेको उहाँका मामा भिम मल्लले बताउनुभयो ।  

बर्दियाका स्थायी बासिन्दा डा. चन्द २०६५ सालमा विद्यावारिधि गर्न अमेरिका जानुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर उहाँले अमेरिका जानुअघि काठमाडौंका विभिन्न विद्यालय तथा कलेजमा अध्यापन गर्नुभएको थियो ।