काठमाडौँ, असोज १३ गते । हिन्दु धर्मावलम्बी नेपालीको घरमा जमरा राख्ने काम सम्पन्न भइसकेको छ । अधिकांश व्यक्ति र समुदाय टीकाको प्रतीक्षामा छन् तर उपत्यकाभित्रकै एउटा सिङ्गो गाउँमा न त जमरा राखिएको छ, न त विजयादशमीको चर्चा नै ।
ललितपुरको खोकनागाउँका बासिन्दा दसैँ मनाउँदैनन् । बरु उनीहरू घटस्थापनाका दिनदेखि नवमीसम्म ‘सिकाली जात्रा’ मनाउँछन् । यो गाउँमा यो वर्ष मात्र जमरा नराखिएको होइन । परम्परागत चलनकै कारण यहाँ दसैँ मनाइँदैन र टीका पनि लगाइँदैन । मुलुकभरि बडादसैँको चहलपहल भइरहँदा यस गाउँका बासिन्दा ‘सिकाली जात्रा’ मनाउनमा नै व्यस्त हुन्छन् । अहिले खोकनावासीलाई यो जात्रा भ्याइनभ्याइ छ ।
मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने यो जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वास्थानी व्रतकथामा आधारित दैवी नृत्य गरेर मनाइन्छ । यहाँका बासिन्दा एकआपसमा टीकाटालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।
खोकना निवासी तथा ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार आश्विन शुक्ल प्रतिपादका दिन यस गाउँमा रहेका तीन वटै गुठी (तः गुठी, जम्मू गुठी र साला ः गुठी) मा एक÷एक वटा राँगाको बलि दिएर यो जात्राको थालनी गरिन्छ । त्यस दिन तीन वटै गुठीका गुठियार सामूहिक भोज खान्छन् । त्यसै गरी जात्रामा रुद्रायणी, भैरव, बालकुमारी, गणेश, ब्रह्मा, महादेव, कलः ज्व (करुणामय), दन्द्रायणी, वज्रवाराही, महालक्ष्मी, नृत्यवश्वरलगायतका देवीदेवताको पूजा गरिन्छ ।
जात्रामा देवीदेवताको मात्र होइन, स्याल, कुकुरलगायतका जनावरको समेत पूजाआजा गर्ने गरिन्छ । नेपाल संवत् ३३६ देखि प्रचलित यो जात्रामा अन्य देवी नृत्यका तुलनामा खोकनावासीले बढी तामझामसाथ मनाउने गरिएको वडाध्यक्ष महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौथीको दिन बिहानै यस गाउँका तीन वटा गुठीमा पुनः राँगाको बलि दिइन्छ । त्यही गाउँकै श्रीकाल चौरमा बेलुका सामूहिक भोज खाएर चौथीको दिन यो जात्रा समाप्त गरिन्छ । पञ्चमीका दिन गाउँभरिका मन्दिरमा रहेका मूर्ति बाहिर निकाली खटमा राखी विशेष पूजाआजा गरिन्छ । त्यसै दिन गुठी र अग्रजहरूको पूजा गरी राति ‘खटजात्रा’ गरेर श्रीकाली चौरमा पुगी त्यस दिनको जात्रा सकिने वडाध्यक्ष महर्जनले बताउनुभयो ।
षष्ठीका दिन रुद्रायणी गुठीको देवी नाच र श्रीकालीको नाच गरी तीन वटै गुठीबाट जात्रा निकालिन्छ । जात्रापछि भोजभतेर गरी गुठीबाट निकालिएका देवीदेवताका मूर्ति गुठीका लागि प्राणप्रतिष्ठा गरिन्छ ।
भोलिपल्ट अर्थात् सप्तमीका दिनभरि विभिन्न देवीदेवताको नाच गरी बेलुकातिर नाच मन्दिरमा प्रवेश गराई त्यस दिनको जात्रा पनि सकिएको जानकारी गराइन्छ । अष्टमीका दिन गुठीहरूबाट फेरि देवीदेवताका मूर्ति बाहिर निकाली गाउँभरि जात्रा गराई राति पुनस्र्थापित गरिन्छ ।
नवमीका दिन खोकना गाउँका नेवार समुदायका प्रत्येकको घरमा पूजापाठ गरी सामूहिक भोज खाएर श्रीकाली जात्रा सम्पूर्ण रूपले समापन भएको घोषणा गरिन्छ ।
किंवदन्ती अनुसार खोकनामा रहेको रुद्रायणीको मूर्ति चोरेर लाने व्रmममा एक्कासि भाले बासेछ र चोरले लसुन बारीमा मूर्ति छोडेर भागे छ । भोलिपल्ट खोकनावासी रुद्रायणीको मूर्ति खोजेर पुनः प्राणप्रतिष्ठा गरेछन् । मूर्तिको पुनस्र्थापनापछि गाउँमा ठुलो उन्नति भएछ र यो सबै उन्नति प्रगति देवीकै कृपाले भएको हो भन्दै यो जात्राको सुरुवात गरिएको हो भन्ने स्थानीयवासीको विश्वास छ । भालेकै कारण चोरले देवीको मूर्ति चोर्न असफल भएको भन्दै रुद्रायणी गुठीका गुठीयार अहिले पनि भालेको मासु खाँदैनन् ।