शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
इटहरी (सुनसरी), चैत ११ गते । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम पार्लरमा लागेको आगो नियन्त्रणमा आएको छ ।
आज बिहान लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उहाँका अनुसार क्याफेको भान्साबाट आगलागी सुरु भएको हो । आगो लाग्नासाथ सुरक्षाकर्मी र स्थानीय निभाउन खटिएका थिए ।
“आगलागीको कारण र यसबाट भएको क्षतिको विवरण यकिन भएको छैन”, उहाँले भन्नुभयो । आगो निभाउन धरान, रामधुनी, इनरुवा, मोरङको विराटनगर र सुन्दरहरैंचाबाट बारुणयन्त्र (दमकल) मगाइएको थियो । बिहानको समयमा क्याफे बन्द रहेकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक हमालले बताउनुभयो । रासस