काठमाडौँ, चैत ११ गते । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित संसद् सचिवालय पुगेर उहाँले आफ्नो कार्यकक्षमा पदभार सम्हाल्नुभएको हो।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै ज्येष्ठ सदस्य केसीले आफ्नो कार्यकालमा संसद्लाई पूर्ण रूपमा निष्पक्ष र पारदर्शी ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, "मेरो सीमित समयको कार्यकालभित्र म निष्पक्ष र पारदर्शी रूपमा सभामुखको भूमिका निर्वाह गर्नेछु।"
केसीले सभामुखको पदले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै आफू संसद्का सम्पूर्ण सदस्यहरूको विशेषाधिकारको संरक्षकका रूपमा प्रस्तुत हुने बताउनुभयो।
"सभामुखले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्छ। त्यसैले संसद्भित्र सबै सांसदहरूको विशेषाधिकारको संरक्षकका रूपमा मैले भूमिका निर्वाह गर्नुपर्छ," उहाँले थप्नुभयो।
नयाँ सभामुखको निर्वाचन नभएसम्मका लागि केसीले प्रतिनिधि सभाको बैठक सञ्चालन र संसद्को अन्य व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नु हुनेछ। नेपालको संविधान अनुसार, सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा ज्येष्ठ सदस्यले संसद्को अध्यक्षता गर्ने व्यवस्था रहेको छ।
