टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), चैत ११ गते ।गुल्मी जिल्लामा आगामी चैत १४ गतेदेखि बालबालिकालाई ‘स्वर्णबिन्दु प्रशान’ खुवाइने भएको छ।
समग्र स्वास्थ्यमा सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरेर ‘स्वर्णबिन्दु प्रशान’ खुवाउन लागिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मीको आयोजनामा जिल्लाभर ‘स्वर्णबिन्दु प्रशान’ अभियान सञ्चालन हुनेछ । आयुर्वेदिक विधिबाट तयार गरिएको स्वर्णविन्दु प्राशन बालबालिकालाई खुवाइने स्वास्थ्य केन्द्रका डाक्टर अञ्जुली पौडेलले बताउनुभयो ।
डाक्टर पौडेलले ‘स्वर्णबिन्दु प्रशान’ आयुर्वेदमा महत्वपूर्ण औषधि भएकाले नियमित सेवन गरे बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने, स्मरण शक्ति सुदृढ हुने तथा शारीरिक र मानसिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख जीवन बस्यालले एक बालबालिकाले करिब ३० डोजसम्म स्वर्ण भष्म सेवन गर्दा अझ प्रभावकारी हुने भएकाले चिकित्सकीय सल्लाह अनुसार मात्र सेवन गराउनुपर्नेमा जोड दिनुभयो ।
‘स्वर्णबिन्दु प्रशान’ खुवाउने अभियानलाई प्रभावकारी बनाउन जिल्ला स्थित सरोकारवाला निकाय, स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सक्रिय सहभागितासहितको योजना बनाइएको केन्द्र प्रमुख बस्यालले बताउनुभयो ।
समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै कार्यक्रमलाई व्यापक बनाउने तयारी आयोजकले गरेको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले आयुर्वेदिक उपचार पद्धतिको प्रवर्द्धनका लागि अभियान महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले अभियानले बालबालिकाको स्वास्थ्य सुधारमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।