तेहरान, चैत ११ गते । इरानले स्ट्रेट अफ होर्मुज हुँदै ‘गैर-शत्रुतापूर्ण’ तेल ट्याङ्करलाई आवतजावत गर्न दिने घोषणा गरेसँगै मध्यपूर्वमा कूटनीतिक पहल अघि बढेको सङ्केत देखिएको छ । तर करिब एक महिनादेखि जारी द्वन्द्व पूर्णरूपमा रोकिएको भने छैन, जसले क्षेत्रीय अवस्था अझै जटिल नै रहेको देखाउँछ ।
अमेरिकी सञ्चार माध्यमले वासिङ्टनले तेहरानलाई शान्ति योजना पठाएको जनाएका छन् भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध अन्त्यतर्फ उन्मुख रहेको भन्दै आशावाद व्यक्त गर्नुभएको छ । ट्रम्पले मङ्गलबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै इरानसँग अहिले पनि संवाद भइरहेको बताउनुभयो । यद्यपि तेहरानले औपचारिक रूपमा कुनै वार्ताको पुष्टि गरेको छैन ।
उहाँले इरानले हालै गरेको कदमलाई ‘ठुलो सङ्केत’ का रूपमा उल्लेख गर्दै यसले सकारात्मक दिशा दिएको धारणा राख्नुभयो । उहाँले उक्त कदमलाई ‘ठुलो उपहार’ का रूपमा व्याख्या गर्नु भएको भए पनि त्यसबारे विस्तृत खुलाउनु भएको छैन, तर यसलाई स्ट्रेट अफ होर्मुज खुला गर्ने निर्णयसँग जोडेर हेरिएको छ ।
स्ट्रेट अफ होर्मुज विश्व ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग हो, जहाँबाट विश्वको करिब पाँचौ भाग तेल ओसार पसार हुने गर्दछ । अमेरिका र इजरायलसँगको तनावपछि इरानले उक्त मार्ग अवरुद्ध गरेको थियो, जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको थियो । तर अहिले इरानले अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठनमार्फत सन्देश जारी गर्दै ‘गैर-शत्रुतापूर्ण’ जहाजलाई सुरक्षित मार्ग दिने जनाएको छ ।
यस कदमपछि कच्चा तेलको मूल्य करिब छ प्रतिशतले घटेको बताइएको छ र यसले विश्व बजारमा केही राहत ल्याएको छ । यसअघि इरानले आफ्ना मित्र राष्ट्रलाई लक्षित नगर्ने बताएको भए पनि बिमा कम्पनीले जोखिम उच्च भएको भन्दै जहाज सञ्चालनमा हिचकिचाहट देखाएका कारण धेरै जहाज मार्गबाट टाढा बसेका थिए । पछिल्लो निर्णयले भने आपूर्ति शृङ्खला केही सहज हुने अपेक्षा गरिएको छ ।
कूटनीतिक पहल अघि बढि रहेका बेला जमिनमा भने द्वन्द्व जारी नै छ । मङ्गलबार इरानबाट प्रहार गरिएको मिसाइलले इजरायलमा एक शिशुसहित एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । त्यसको जवाफमा इजरायलले इरानका विभिन्न क्षेत्रहरूमा ‘ठुलो लहर’ का रूपमा हवाई आक्रमण गरेको जनाएको छ । इजरायली सैन्य प्रवक्ता एफी डेफ्रिनले आफ्नो देशको युद्ध योजना अपरिवर्तित रहेको र खतरा हटाउन कारबाही जारी रहने बताउनुभयो ।
द्वन्द्वको प्रभाव लेबनानमा पनि गहिरिँदै गएको छ । इजरायलले इरान समर्थित हिजबुल्लाहविरुद्ध कारबाही विस्तार गर्दै दक्षिणी लेबनानको लिटानी नदीसम्मको क्षेत्र नियन्त्रणमा लिने बताएको छ । हालसम्मका आक्रमणमा लेबनानमा कम्तिमा एक हजार ७२ जनाको ज्यान गएको र १० लाखभन्दा बढी मानिस विस्थापित भएको अधिकारीले बताएका छन् । बेरुतका दक्षिणी उपनगरमा बसोवास गर्नेलाई सम्भावित आक्रमणको चेतावनी दिइएको छ ।
इरानले भने खाडी क्षेत्र नजिकको बुसेहरमा इजरायलले पुनः आक्रमण गरेको आरोप लगाएको छ । उक्त क्षेत्र ऊर्जा संरचनाका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ । तेहरानकी एक स्थानीय महिलाले टेलिफोनमार्फत दैनिक रूपमा विस्फोट र मिसाइलको आवाज सुनिनु सामान्य जस्तै भएको बताउँदै ऊर्जा पूर्वाधारमाथि आक्रमण हुने चिन्ता बढेको उल्लेख गर्नुभयो ।
यसैबिच, नयाँ आणविक सम्झौताबारे कूटनीतिक पहल पनि अघि बढि रहेका छन् । अमेरिकी सञ्चार माध्यम न्युयोर्क टाइम्सले अज्ञात अधिकारीलाई उद्धृत गर्दै वासिङ्टनले पाकिस्तानमार्फत इरानलाई १५ बुँदे प्रस्ताव पठाएको जनाएको छ । उक्त प्रस्तावमा युद्धविराम, संवर्धित युरेनियमको व्यवस्थापन, थप संवर्धनमा रोक तथा प्रतिबन्ध हटाउने विषय समेटिएको बताइएको छ ।
इजरायलको च्यानल १२ ले एक महिनाको युद्धविराम प्रस्तावसमेत अघि सारिएको उल्लेख गरेको छ, जसअनुसार इरानले आफ्नो संवर्धित युरेनियम हस्तान्तरण गर्ने र बदलामा दीर्घकालदेखि लागु रहेका आर्थिक प्रतिबन्ध हटाइने सम्भावना रहेको छ । साथै, नागरिक प्रयोजनका लागि आणविक ऊर्जा विकासमा सहयोग गर्ने विषय पनि छलफलमा रहेको जनाइएको छ ।
ट्रम्पले भने सम्भावित सहमतिको मूल आधार इरानलाई आणविक हतियार विकास गर्न नदिने रहेको दोहोर्याउनुभयो । सन् २०१५ मा भएको आणविक सम्झौताबाट अमेरिका पछि हटेपछि उत्पन्न अविश्वासबिच नयाँ समझदारी खोज्ने प्रयास भइरहेको देखिन्छ । यद्यपि कूटनीतिक गतिविधि बढ्दै गए पनि सैन्य तयारी भने यथावत् छ । द वाल स्ट्रिट जर्नलका अनुसार संयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा थप तीन हजार सैनिक पठाउने योजना बनाएको छ, जसले सम्भावित तनाव पुनः चर्किन सक्ने सङ्केत दिएको छ ।
क्षेत्रीय रूपमा पनि अस्थिरता फैलिएको छ । बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाले इरानतर्फबाट सम्भावित ड्रोन तथा मिसाइल आक्रमण विफल बनाएको दाबी गरेका छन् । कुवेतको मुख्य विमानस्थलमा ड्रोन प्रहारपछि आगलागी भएको खबर आएको छ, जसले सुरक्षा चिन्ता थप बढाएको छ । यसरी, एकातर्फ इरानद्वारा जलमार्ग खुला गर्ने निर्णय र अमेरिकी शान्ति प्रस्तावले कूटनीतिक सम्भावनालाई अघि बढाएको देखिन्छ भने अर्कोतर्फ निरन्तर सैन्य गतिविधि, आक्रमण र अविश्वासका कारण मध्यपूर्वको अवस्था अझै संवेदनशील र अनिश्चित नै रहेको छ । रासस/एएफपी