अनिल पराजुली
हेटौँडा, असोज १३ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हिन्दु धर्मावलम्बीहरूको महान् चाड बडादसैँले नागरिकबिच आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
बडादसैँ २०८२ को अवसरमा सोमवार शुभकामना दिनुहुँदै उहाँले हरेक घरमा सुख, शान्ति र समृद्धिको आशीर्वाद पुग्दै हाम्रो समाजलाई सभ्य, प्रगति र समृद्धिको दिशातर्फ अघि बढाउन सघाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको हो ।
उहाँले पर्वमा तडकभडक र फजुल खर्च नगरी आफ्नो गच्छअनुसार पर्व मनाउन समेत प्रेरित गर्नुभएको छ । उहाँले पर्वले शान्ति, स्थिरता र समृद्धिको ढोका खोल्ने आशा व्यक्त गर्नुभएको छ । चुनौतीहरूको यो परिवेशलाई अवसरमा बदल्न दसैँले दिने संयम्, साहस र सहकार्यको प्रेरणाले सबैलाई ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वास उहाँले लिनुभएको छ ।
देश हाल रूपान्तरणको संवेदनशील चरणमा रहेको उल्लेख गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले सन्देशमा उल्लेख गर्नु भएको छ, “हालैको आन्दोलन, जनधनको अपूरणीय क्षति र विकसित घटनाक्रमले आमनागरिकमा उल्लास देखिएको छैन, दशैको मुखमा यात्रुहरूले ठुलो सास्ती बेहोर्नुपरेको छ । पीडाबाट गुज्रेको बेला आम समुदायमा उल्लास र रौनकता देखिएको छैन ।”
बडादसैँ शक्तिको जागरण र आत्मबलको प्रतीक भएको देवकोटाले बताउनुभएको छ । “यसले दृढ निश्चय, धैर्य र न्यायको रक्षा गर्ने अटल भाव जगाउँछ” सन्देशमा भनिएको छ, “यो पर्वले सत्य, धर्म र न्यायको विजयी क्षणलाई उजागर गर्दै समाजमा शान्ति र सहअस्तित्वको ज्योति फैलाउँछ, दसैँ केवल पर्व मात्र नभई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र अन्धकारमाथि प्रकाशको उदयको अनन्त प्रेरणा हो ।”
घटस्थापनाको दिनदेखि सुरु हुने बडादशै कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । यद्यपि आज फूलपातीसँगै बडा दशैको विशेष चहलपहल आरम्भ हुदैछ । विभिन्न शक्तिपीठहरूमा विविध धार्मिक चलनअनुसार पूजाअर्चना र धार्मिक क्रियाकलापहरू सम्पन्न गरिन्छ । फूलपातीको दिनदेखि महाअष्टमी, महानवमी हुँदै विजयादशमीसम्मको यात्राले नेपाली समाजलाई आस्था, संस्कार र एकताको अनन्त धरोहरमा बाँध्ने कार्य गरेको प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।