वासिङ्टन, असोज १३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई स्वागत गर्दै गाजा शान्ति योजनालाई अघि बढाउने उच्चस्तरीय वार्ता सुरु गर्ने घोषणा गर्नु भएको छ ।
गत हप्ता अरब नेतासँगको छलफलपछि राष्ट्रपति ट्रम्पले गाजाको करिब दुई वर्ष लामो युद्ध अन्त्य गर्ने, हमासद्वारा बन्धक बनाइएकालाई मुक्त गर्ने तथा प्यालेस्टिनी लडाकू समूहलाई निशस्त्र पार्ने सम्झौता प्रभावकारी रूपमा अघि बढेको दाबी गर्नु भएको थियो । उहाँले आफ्नै ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै उत्साहपूर्वक भन्नुभयो, “सबै पक्ष पहिलो पटक एउटै दिशामा छन् । हामी यसलाई पूरा गर्ने छौँ ।”
तर प्रधानमन्त्री नेतान्याहुले भने हालैका गतिविधिमा आशावाद कम देखाउनु भएको छ । उहाँले शुक्रबार संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै हमासविरुद्ध ‘अन्तिम लक्ष्य हाँसिल गर्ने’ प्रतिबद्धता व्यक्त गर्नुभयो र प्रमुख पश्चिमी राष्ट्रले मान्यता दिएको प्यालेस्टिनी राज्य निर्माणलाई रोकिने घोषणा गर्नुभयो ।
साथै, गाजा सहरमा जारी सैन्य आक्रमण रोकिने सङ्केत पनि उहाँबाट प्राप्त भएको छैन, जसका कारण लाखौँ नागरिक विस्थापित भएका छन् । सत्ता पुनः ग्रहण गर्नु भएका राष्ट्रपति ट्रम्पको कार्यकालमा प्रधानमन्त्री नेतान्याहुको यो चौथो ह्वाइट हाउस भ्रमण हो । ट्रम्पले आफूले केही दिनमै द्वन्द्व समाधान गर्न सक्ने भन्दै कूटनीतिक पहललाई अगाडि बढाइ रहनु भएको छ ।
यद्यपि, प्रायः नेतान्याहूका कट्टर समर्थक मानिने ट्रम्पले पछिल्ला दिनमा असन्तुष्टि प्रकट गर्नु भएको छ । उहाँले नेतान्याहुलाई पश्चिम किनार विलय नगर्न चेतावनी दिनु भएको थियो र इजरायलद्वारा कतारमा रहेका हमास सदस्यमाथि गरिएको आक्रमणको पनि विरोध गर्नु भएको थियो ।
मिडल इस्ट इन्स्टिच्युटका वरिष्ठ फेलो नातान स्याक्सका अनुसार नेतान्याहुको स्पष्ट प्राथमिकता युद्ध जारी राखेर हमासलाई पराजित गर्नु हो, तर राष्ट्रपति ट्रम्पले पर्याप्त दबाब र स्पष्ट रणनीति प्रयोग गर्नुभयो भने उहाँलाई अन्यथा बुझाउन असम्भव छैन । दुवै नेताले सोमबार दिउँसो अमेरिकी पूर्वी समय अनुसार १ः१५ बजे (१७१५ जिएमटी) संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
गत हप्तासम्म राष्ट्रपति ट्रम्प संयुक्त राष्ट्र महासभाको साइडलाइनमा अरब र मुस्लिम बहुल मुलुकका नेतासँगको छलफलपछि अझ बढी आशावादी देखिनु भएको थियो । अमेरिकी नेतृत्वमा तयार गरिएको २१-बुँदे प्रस्तावमा हमासको निशस्त्रीकरण, सबै बन्धकको रिहाइ र युद्धविरामको व्यवस्था समावेश गरिएको बताइएको छ ।
केही मिडिया रिपोर्टमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई ‘गाजा अन्तर्राष्ट्रिय सङ्क्रमणकालीन प्राधिकरण’को सम्भावित नेतृत्वका लागि नामसमेत प्रस्ताव गरिएको छ । यस प्राधिकरणले संयुक्त राष्ट्र र खाडी मुलुकको सहयोगमा प्रारम्भिक शासनको जिम्मा लिने छ र पछि सुधारिएको प्यालेस्टिनी प्राधिकरणलाई जिम्मा हस्तान्तरण गर्ने योजना छ ।
तर नेतान्याहुले आफ्नो संयुक्त राष्ट्र सम्बोधनमा गाजामा पुनः प्यालेस्टिनी प्राधिकरण (पिए) को भूमिका अस्वीकार गर्नुभयो । उहाँले आइतबार फक्स न्युजलाई दिनु भएको अन्तर्वार्तामा सुधारिएको पिएले इजरायलसँग स्थायी सहअस्तित्व कायम गर्ने सम्भावनामा गहिरो शङ्का व्यक्त गर्नुभयो । गाजाको युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासको भीषण आक्रमणपछि सुरु भएको हो ।
उक्त दिन एक हजार २१९ व्यक्तिको मृत्यु भएको थियो, जसमा अधिकांश नागरिक थिए र यो इजरायलको इतिहासकै सबैभन्दा घातक दिन ठहरिएको छ । त्यसपछिको इजरायली आक्रमणले हालसम्म ६५ हजार ५४९ भन्दा बढी प्यालेस्टिनीको ज्यान लिएको छ, जसमा पनि अधिकांश नागरिक रहेको संयुक्त राष्ट्रसङ्घले विश्वसनीय ठानेको तथ्याङ्कले देखाएको छ । रासस/एएफपी