हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), असोज १३ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको छोसेरमा अवस्थित मुस्ताङ भन्सार कार्यालय, न्हेछुङमा चिनियाँ सामानको चाप बढेसँगै दसैँको टिकाको दिन बाहेक अन्य दिन सञ्चालन हुने भएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्वासेन हुँदै आएका विद्युतीय (ईभी) गाडी, इलेक्ट्रोनिक्स, विभिन्न तयारी पोसाक, हस्तकला, कस्मेटिक साम्रगी सहितका सामानको चापलाई मध्यनजर गरी विजया दशमीको दिन बाहेक काम गर्ने गरी जनशक्ती व्यवस्थापन गरिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताउनुभयो ।
भन्सार कार्यालय प्रमुख खड्का भन्नुहुन्छ,‘‘चिनियाँ कन्टेनर आउने क्रम जारी छ, रोकिएकाको जाँचपास समेत बाँकी छ ।’’ चाडपर्व लक्षित सामानहरू करिब जाचपाँच भएको र केही आउने क्रममा नै रहेको प्रमुख खड्काले बताउनुभयो । जाडो मौसममा सामान ढुवानीमा समेत असहज हुने नाकामा दसैँ तिहारको बिचमै चिनबाट भित्रिने लाइनमा रहेका सबै सामान ढुवानी हुने भन्सार कार्यालयले जनाएको छ ।
आइतबार साँझसम्म मुस्ताङबाट काठका साम्रगी, ज्याकेटसहित अन्य पोशाक लिएर पाँच वटा मालबाहक ट्र«क निकासी भएकोमा चिनबाट आयात गरिएका सबै ९७५ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको छ भने ३ सय ४८ मध्ये ३ सय १० मालवाहक ट्रकसहित कन्टेनरको भन्सार जाँचपास सम्पन्न भएर कोरला–जोमसोम–बेनी सडकखण्ड हुँदै गन्तव्यतर्फ लागेको कार्यालय प्रमुख खड्काले बताउनुभयो । यसैबीच हालसम्म भन्सार कार्यालयले आयातबाट मात्रै १ अर्व ७५ करोड ८४ लाख ११ हजार ५ सय ४९ राजश्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले दसैँको अवधिमा करिब २ अर्वको हाराहारीमा राजश्व संकलन गर्ने अनुमान गरिएको छ ।
वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका हालसम्म मुस्ताङका पाँच स्थानीय तहका बासिन्दाले घरायसी र सामान्य व्यापारका लागि सामान आयात गर्ने गरेकोमा बाढीपहिरोका कारण चीनलाई जोड्ने प्रमुख व्यापारिक रसुवा र तातोपानी सञ्चालनमा नआएपछि वैकल्पिक मार्गको रुपमा कोरला नाका प्रयोग गरिएको थियो ।
व्यवसायिक रुपमा कोरला नाका सञ्चालनमा आएपछि रोजगारीसँगै ब्यापार समेत बढेको छ । समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको थियो । कोरला नाकाबाट करिब १४ किलोमिटर तल भन्सार कार्यालय रहेको छ ।