• १३ वैशाख २०८१, बिहिबार

युवा पुस्ताको रोजाइ जिन्स

blog

काठमाडौँ, चैत १५ गते । पहिरनले मानिसको व्यक्तित्व झल्काउँछ । त्यसैले मानिस आफ्नो रोजाइअनुसारको पहिरन लगाउने गर्छन् । स्वाभाविक रूपमा उमेर समूहअनुसार मानिसले पहिरन छनोट गर्छन् । अहिलेको युवा पुस्ताको छनोट हेर्ने हो भने अधिकांश जिन्स पहिरनतर्फ आकर्षित भइरहेका देखिन्छन् । उनीहरूको प्राथमिकता अन्यभन्दा जिन्समा बढिरहेको छ । जिन्स सजिलो, स्टाइलिस र ग्ल्यामर्स भएरै हुनुपर्छ, युवा पुस्ता त्यसतर्फ आकर्षित भएको । सदावहार पहिरनको पहिचान भएको जिन्सका ज्याकेट, पाइन्ट, आउटर अहिले उत्तिकै लोकप्रिय मानिन्छन् । 

चाहे जाडो होस् वा गर्मी; जिन्सको पहिरन लगाउन सधैँ सहज हुने अनुभव अभिनेता अनुपविक्रम शाहीको छ । जिन्सले स्टाइलिस मात्र देखाउँदैन, ‘कुल’ पनि बनाउँछ, अभिनेता शाही भन्नुहुन्छ, “जाडोमा भुवा भएको र गर्मीमा नरम खालको जिन्स लगाउँछु । यो कहिले पनि ‘फेसन आउट’ नहुने भएकाले मेरो पहिलो रोजाइ नै जिन्स हो ।” उहाँका अनुसार रङमा विविधता मात्रै होइन, कपडाझैँ नरम, ‘स्ट्रेचेबल’देखि कडा जस्तोसुकै प्रकारका जिन्स पाइने हुनाले धेरैको रोजाइमा यो पर्छ । 

जिन्सको अर्को विशेषता हो– ‘टाइट फिटिङ ।’ त्यसैले खानपान र व्यायामका माध्यमबाट सुन्दर एवं आकर्षक शरीर बनाउनेहरू जिन्सका बढी नै पारखी हुन्छन् । विश्वमा जस्तै नेपाली समाजमा पनि जिन्सको पहिरनप्रति आकर्षण बढेको हो । गाउँदेखि सहरसम्म, हिमालदेखि तराईसम्म जिन्सका पहिरन चल्तीमा छन् । केटाकेटी दुवैले बराबरी प्रयोग गर्ने सबभन्दा रुचाइएको पहिरनमा पर्छ जिन्स । फेसन डिजाइनर निहिता अरोरा जिन्सको फेसन कहिले पनि पुरानो नहुने बताउनुहुन्छ । आइरन लगाउनु नपर्ने, क्याजुअल र सेमी फर्मल दुवैमा प्रयोग हुनु जिन्सको राम्रो पक्ष मानिन्छ । उहाँ भन्नुहुन्छ, “जिन्समा आकर्षक, स्टाइलिस र व्यक्तित्व पनि खुल्छ । ‘लुक्स’ पनि राम्रो देखिन्छ, होचा र उचाइ भएको दुवैलाई जिन्स सुहाउँछ ।” उहाँको अनुभवमा जिन्स पाइन्ट लगाएर बस्दा अलि अप्ठ्यारो हुनुबाहेक अन्य बेफाइदा केही छैन । जिन्सका शिरदेखि पाउसम्म लगाउन मिल्ने सबै प्रकारका पहिरन बनेका छन् । 

बीबीए तेस्रो वर्षमा अध्ययनरत अस्मिता बस्नेतलाई पनि जिन्सको पहिरन निकै मन पर्छ । हालै आफ्नो ग्ल्यामर्स फोटोसुट गराउनुभएकी उहाँले जिन्सको पहिरनमा फोटो लिन छुटाउनुभएन । “बाहिर कतै जाँदा म प्रायः जिन्स पाइन्ट लगाउँछु । जिन्स जति सजिलो र आरामदायी लाग्छ, व्यक्तित्व पनि त्यत्तिकै खुल्छ,” अस्मिताले भन्नुभयो । उहाँले पनि सानै उमेरदेखि जिन्स लगाउन थाल्नुभएको हो । 

मोडेलहरूको पहिलो रोजाइमा पर्छ– जिन्सका पहिरन । फेसन सोमा जिन्स खासै नचले दैनिक जीवनमा भने मोडेलहरू प्रायः जिन्स रुचाउने फेसन डिजाइनरको भनाइ छ । जिन्स अहिले फेसनेबल सेलिब्रेटीको रोजाइमा परे पनि यसको इतिहास भने फरक छ । जिन्सको सुरुवात ज्याकव डब्लु डेभिसले गर्नुभएको हो । रुसमा जन्मनुभएका अमेरिकी आप्रवासी डेभिसले अमेरिकी कपडा कारखाना ‘लेभी स्ट्रउस एन्ड को’सँगको सहकार्यमा सन् १८७१ मा जिन्सलाई पहिलो पटक प्रयोगमा ल्याउनुभएको थियो । खासगरी गाई गोठालो र खनिजमा काम गर्ने कामदारका लागि खप्ने पहिरनका रूपमा जिन्स प्रयोग गरिएको थियो । सन् १९५० को दशकमा कामदार टिनएजरमाझ जिन्स लोकप्रिय भएपछि बिस्तारै यो विश्वव्यापी रूपमा फैलिएको थियो । सन् १९६० को दशकदेखि हिप्पी (अमेरिका र बेलायतबाट सुरु भएको युवाको अभियान) पनि जिन्सका पारखी बनेको मानिन्छ । सन् १९७० को दशकमा जिन्स हेभी मेटल र पङ्क रक (फेसन, एक्स्प्रेसन, नृत्य, साहित्य, चलचित्र आदिको सम्मिश्रण) पाखरीमाझमा पनि छाउन पुग्यो ।