• ८ वैशाख २०८१, शनिबार

नाटकमा सामान्य कथा, बेजोड प्रस्तुति

blog

काठमाडौँ, चैत १४ गते । मञ्चमा देखिने भव्य पलङ, सोफा, कलात्मक र्‍याक, पेन्टिङ र तस्बिरहरू नाटकका आकर्षण हुन् । यस्तै आकर्षणलाई प्रतिविम्बित गर्छ निर्देशक प्रवीण खतिवडाको नाटक ‘विमोक्ष’ले । नाटककी मुख्य पात्र रश्मिदेवी बस्नेतको वरिपरि घुमेको कथाले मानवीय चाहना र आशक्तिलाई सटिक ढङ्गले चित्रण गरेको छ । 

उहाँले जीवनमा भोगेका अनेकन विषयलाई नाटकमा जीवन्त रूपमा प्रस्तुत गरिएको छ । नाटकले रश्मिदेवीका दुईवटा पृथक् जीवनलाई देखाउने प्रयास गरेको छ; एकमा उनी वृद्धावस्थामा देखिन्छिन् भने अर्कोमा चञ्चले युवती । उमेरमै श्रीमान् कर्णेल श्यामकुमार बस्नेतको मृत्युपछि उनी आफूभन्दा कम उमेरका युवा ‘कमल’सँग प्रेममा पर्छिन् । उनको त्यो प्रेम भने दिगो हुँदैन । कमल उनीबाट टाढा भएको निकै वर्ष भइसकेको हुन्छ । उनको मनभित्र अझै कमललाई भेट्ने लालसा रहेको हुन्छ । श्रीमान्ले दिएको चरम यातनाको गहिरो छाप लुकाएर बसेकी रश्मिदेवी कमलसँग आफ्नो दुःख बिसाउन चाहन्छिन् । जब उनको भेट कमलसँग हुन्छ, त्यसपछि नाटकले गति लिन्छ । 

कमलको पनि आफ्नै दुःख र पीडाको कथा छ । उनको जीवनमा धेरै उतारचढाव आएका छन् । नाटकमा उनको पनि दुई रूप र परिचय देखाइएको छ । कमल घिमिरे (सागर खाती कामी) र दीप दर्नाल (घिमिरे युवराज) । कमल यो दुई परिचयको बीचमा पिल्सिएको छ । ऊ आफ्नो युवा अवस्थाका दिनहरूलाई सम्झन्छ । त्यो युवा अवस्थामा ऊ रश्मिदेवी (पवित्रा खड्का)को प्रेममा परेको हुन्छ । कमल सामाजिक विभेद र जातीय विभेदले बाँधिएको छ । ऊ आफ्नो ‘कमल’ परिचयबाट मुक्ति चाहन्छ; जसले उसलाई पूर्ण रूपमा दीप दर्नाल हुनबाट रोकेको छ । उता श्रीमान्ले दिएको यातनाको गहिरो छाप छ, मुमाहजुर (सगुना शाह) अर्थात् रश्मिदेवीको स्मृतिमा । मुमाहजुरको आफ्नो 

पुरानो प्रेमी भेट्ने चाहना र दीप दर्नाल ‘कमल घिमिरे’बाट मुक्त हुने चाहनाको कथाले नै नाटकलाई रोचक बनाएको छ । नाटक सेटमा थ्रीडीको प्रयोग सुहाएको छ । बीच–बीचमा थ्रीडीमा देखाइने स्मृतिले नाटकलाई बुझ्न सहज बनाएको छ । 

नाटकमा दुई पात्रबीचको प्रेमलाई दर्शाइएको छ, जुन दुई जात र फरक उमेरबीचको प्रेम हो । दीप दर्नाल जातीय उत्पीडनका कारण कमल घिमिरेको रूप धारण गर्छन् । त्यस्तै कमल र रश्मिबीचको प्रेममा त्यति बेला भुइँचालो आउँछ जब कमल दीप दर्नाल हुन् भन्ने थाहा हुन्छ । 

रश्मिदेवी र कमलले माथिल्लो स्टेजमा गरेको अभिनयले दर्शकको ध्यान अवश्य नै नाटकमा तान्छ ।  त्यस्तै तल्लो स्टेजमा वृद्ध उमेरकी रश्मिदेवी र अधबैँसे उमेरका दीप दर्नालको अभिनय प्रशंसनीय छ । संवाद, बोल्ने शैली, शरीरको हाउभाउ र हिँडाइको चालले दीपको अभिनय तारिफयोग्य छ ।  नाटकको भव्य सेट, संवाद, सङ्गीत र रहस्यले दर्शकलाई पूरा अवधिभर नाटकमा बाँधेर राख्छ । चैत १८ सम्म मञ्चन हुने नाटकमा सगुना शाह, घिमिरे युवराज, पवित्रा खड्का, सागर खाती कामीको अभिनय छ ।