• ६ चैत २०८२, शुक्रबार

धरानमा पिण्डेश्वर रथ यात्रा

blog

पिण्डेश्वर रथयात्रा गरिदै ।

निशा राई 

धरान, चैत ५ गते । धरान उपमहानगरपालिका –१४ स्थित ऐतिहासिक एवम् धार्मिक तीर्थस्थल पिण्डेश्वर बाबाधाम मन्दिरमा ‘दोस्रो पिण्डेश्वर रथ यात्रा’ तथा रथोत्सव सुरु भएको छ । 

बिहीबारदेखि सुरु भएको रथयात्रा चैत १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । पिण्डेश्वर बाबाधाम समिति धरान –१४, पिण्डेश्वर महादेव मन्दिरको संयुक्त आयोजना तथा बुढासुब्बा मन्दिर सम्भार एवम् संरक्षण परिषद, दन्तकाली मन्दिर व्यवस्थापन समिति, पञ्चकन्या मन्दिर व्यवस्थापन समितिको सहयोगमा रथ यात्रा सुरु भएको पिण्डेश्वर बाबाधाम सेवा समितिको अध्यक्ष विकास बनेपालीले जानकारी दिनुभयो ।

उहाँको अनुसार पौराणिक, ऐतिहासिक एवम् धार्मिक तीर्थस्थल रुद्राक्षारण्य अमृतपिण्ड भगवान् श्री पिण्डेश्वर महादेव (बाबा) को रुद्राक्षारण्य महात्म्यमा उल्लेख भए अनुरुप दोस्रो पिण्डेश्वर रथोत्सव गरिएको हो । यस रथोत्सवले प्राचीन धार्मिक परम्परालाई पुनर्जीवित गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

चैत १३ गते बुढासुब्बा मन्दिरबाट सुरु हुने र चैत १९ गते धरान बजार परिक्रमा गर्दै रथोत्सवको विधिवत् समापन गरिने कार्यक्रम रहेको मूल पुजारी गोकुल पोखरेलले जानकारी दिनुुभयो । 

रथयात्रा अवधिभर दैनिक बिहान ९ बजेदेखि रुद्री पूजा तथा साँझ भव्य भजन–कीर्तन गरिने आयोजकले जनाएको छ । बिहीबार भएको रथयात्रा पिण्डेश्वर मन्दीरबाट सुरु गरी दन्तकाली, पञ्चकन्या र बुढासुब्बा मन्दिर हुँदै पुनः पिण्डेश्वर मन्दीरमा आएर समापन भएकोे थियो । 

रथयात्रामा मन्दिरका पुजारी गोकुल पोख्रेल, कोशी प्रदेश सदस्य  रमेशकुमार बस्नेत, कोशी प्रदेश पूर्व सभामुख प्रदीप कुमार भण्डारी, नेकपा (एमाले) केन्द्रीय सदस्य मञ्जु भण्डारी, केन्द्रीय सदस्य मुरारी सुवेदी, धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई लगायत स्कुलको विद्यार्थीहरु सहित भक्तजनहरुको उपस्थिति रहेको थियो ।