• ३ चैत २०८२, मङ्गलबार

‘वन ब्याटल आफ्टर एनदर’ लाई अस्कर अवार्ड

blog

लस एन्जलस चैत ३ गते । विश्वप्रसिद्ध अस्कर अवार्डमा राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत सङ्घर्षको कथा समेटिएको चलचित्र ‘वन ब्याटल आफ्टर एनदर’ सर्वश्रेष्ठ फिल्म घोषित भएको छ ।

बहुस्तरीय कथा, शक्तिशाली अभिनय र निर्देशकको सशक्त प्रस्तुतिका कारण फिल्मले अन्तर्राष्ट्रियस्तरमा व्यापक चर्चा बटुलेको थियो । यो फिल्मले समीक्षक र दर्शक दुवैबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । यसको कथा संरचना, दृश्य संयोजन र कलाकारको अभिनयलाई विशेष रूपमा प्रशंसा गरिएको थियो । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८ औँ एकेडेमी अवार्ड समारोहमा वार्नर ब्रदर्स स्टुडियोको यो फिल्मले सबैभन्दा ठुलो सम्मान हात पारेको हो ।

यस चलचित्रले उत्कृष्ट निर्देशक विधामा पनि सफलता हासिल गरेको छ । निर्देशक पल थोमस एन्डरसनले यस फिल्मका लागि उत्कृष्ट निर्देशकको अवार्ड जित्नुभएको हो ।

यो फिल्मले अन्य प्राविधिक विधामा समेत अवार्ड जित्दै यस वर्षको अस्करमा उल्लेखनीय सफलता हासिल ग¥यो । यस वर्षको अस्करमा सर्वश्रेष्ठ फिल्म विधाको मनोनयनमा ‘सिनर्स’, ‘ह्याम्नेट’, ‘फ्रान्केनस्टाइन’, ‘के–पप डेमन हन्टर्स’ र ‘वेपन्स’ थिए ।

ह्याम्नेट नामक चलचित्रबाट जेसी बक्ली उत्कृष्ट अभिनेतृ घोषित हुनुभयो । उत्कृष्ट अभिनेताको अवार्ड माइकल बी जोर्डन (सिनर्स) ले पाउनुभयो । सिनर्सले उत्कृष्ट छायाङ्कन, उत्कृष्ट मौलिक पटकथा उत्कृष्ट मौलिक सङ्गीतको अवार्ड पनि पाए । उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म अवार्ड नर्वे सेन्टिमेन्टल भ्यालु नामक चलचित्रले प्राप्त ग¥यो ।

उत्कृष्ट मौलिक गीत गोल्डेन–के–पप डेमन हन्टर्स तथा उत्कृष्ट ध्वनिमा एफ वानले अवार्ड पाए । यसै गरी उत्कृष्ट फिल्म सम्पादनमा वन ब्याटल आफ्टर अनदर, उत्कृष्ट वृत्तचित्र फिचर फिल्ममा मिस्टर नोबडी अगेङ्स्ट पुटिनले अवार्ड पाए । भिजुअल इफेक्ट्समा अवतार फायर एन्ड एस तथा छोटो वृत्तचित्र (डकुमेन्ट्री) फिल्ममा अल दी एम्प्टी रुम्स उत्कृष्ट बने । यसै गरी उत्कृष्ट एनिमेटेड फिचर फिल्म के–पप डेमन हन्टर्स र उत्कृष्ट एनिमेटेड छोटो फिल्म दी गर्ल हु क्राइड पल्र्स घोषित भएका छन् ।