काठमाडौँ, माघ २६ गते । यही माघ १० गते इलामका प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि आफैँमाथि आगो लगाएर आत्मदाह गरेको घटनाले समाज तरङ्गित छ । आत्मदाह प्रयासको भोलिपल्ट उपचार गर्दा गर्दै उहाँको मृत्यु भयो । आत्मदाह गर्नुअघि आचार्यले फेसबुकमा लेखेको लामो टिप्पणीले नेपाल सरकारलाई छानबिन समिति गठन गर्न बाध्य बनायो । जिल्ला प्रहरी परिसर काठमाडौँमा मृतक आचार्य पत्नीले दिनुभएको किटानी जाहेरीपछि आचार्यले लेखेका नामका व्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।
तनावले लियो ज्यान
आचार्यले आत्मदाह प्रयास गरेकै दिन सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का रामदेव मरिक (डोम)ले एक सहकारीबाट लिएको एक लाख रुपियाँ ऋणको सावाँ ब्याज तिर्न नसक्दा आत्महत्या गर्नुभयो ।
छोराको विवाह गर्दा ग्लोबल आईएमई लघुवित्तबाट ९० हजार रुपियाँ तथा महुली लघुवित्तबाट १५ हजार रुपियाँ ऋण संस्थाका कर्मचारी र समूहका सदस्य किस्ता लिन घरमै आएर ताकेता गरेका थिए ।
त्यसको भोलिपल्ट माघ १२ गते विराटनगरका व्यवसायी मोहन न्यौपानेले आर्थिक भार खेप्न नसकी आत्महत्या गर्नुभयो । विराटनगर सनी रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आउनुभएका न्यौपानेले लेखेको सुसाइड नोटमा पनि आत्महत्याका कारण आर्थिक तनाव उल्लेख गरिएको छ । यी घटना सेलाउन नपाउँदै माघ २० गते काठमाडौँको पुरानो बानेश्वरस्थित टङ्कप्रसाद मार्गका किशोर श्रेष्ठले सात वर्षीया छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
रामेछापको खाँडादेवी स्थायी घर भई काठमाडौँको ग्वगँःबुँमा फार्मेसी सञ्चालन गर्दै आएका भण्डारीले शारीरिक अपाङ्गता भएकी छोरीको घाँटी रेटेर हत्या गरेपछि आफूले पनि पासो लगाएर आत्महत्या गरेको अवस्थामा प्रहरीले दुवै जनाको शव फेला पारेको जनाएको छ । यी यही माघमा भएका केही प्रतिनिधि घटना मात्र हुन् । नेपालमा दैनिक औसत १८ जना व्यक्तिले आत्महत्या गर्ने गरेका छन् तर त्यस्ता सबै घटना अनुसन्धान र छानबिनको दायरामा आउँदैनन् ।
मानसिक रोग, लागू पदार्थको अत्यधिक सेवन, उपचारमा आर्थिक समस्या, सामाजिक अपहेलना तथा बहिष्करण तथा सामाजिक सञ्जालको गलत प्रयोगका कारण यस्ता घटना दैनिक बढ्दै गएका छन् ।
प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार दैनिक औसत १८ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुष बढी छन् । आर्थिक वर्ष २०७९/८० को सात महिनामा मात्र तीन हजार १५१ जनाले आत्महत्या गरेका छन् । जसमा पुरुष एक हजार ४६५, महिला एक हजार ३२ तथा १३५ बालक र २२८ बालिका छन् ।
आव २०६९/७० मा तीन हजार ९८४ ले आत्महत्या गरेकामा पुरुष दुई हजार एक र महिला एक हजार ७९३ थिए । त्यस्तै आव २०७८/७९ मा छ हजार ८३०, आव २०७०/७१ मा पाँच हजार १०७, आव २०७१/७२ मा चार हजार ३५०, आव २०७२/७३ मा चार हजार ७०५, आव २०७३/७४ मा पाँच हजार १३१ तथा आव २०७४/७५ मा पाँच हजार ३४६ आत्महत्याका घटना भएका थिए ।
त्यसैगरी आव २०७५/७६ मा पाँच हजार ७८५, आव २०७६/७७ मा छ हजार २७९ तथा आव २०७७/७८ मा सात हजार १४१ जनाले आत्महत्या गरेका थिए । प्राप्त तथ्याङ्कअनुसार पछिल्लो नौ वर्षमा ५० हजार ६७० जनाले आत्महत्या गरेका छन् ।
प्रयास अप्रभावकारी
नेपाल प्रहरीले आत्महत्या रोकथाम गर्ने उद्देश्यले विभिन्न प्रकारका जनचेतानामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि आत्महत्याका घटनामा भने कमी आएको देखिँदैन ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पोषराज पोखरेलले विभिन्न सरोकारवाला निकायसँगको सहकार्यमा आत्महत्या रोकथाम तथा न्यूनीकरण अभियान सञ्चालन भइरहेको बताउनुभयो ।
समुदाय प्रहरी साझेदारीअन्तर्गत नेपाल प्रहरीले स्थानीय तहका जनप्रतिनिधिसमेतको सहभागितामा देशभर आत्महत्या रोकथाम अभियान नै सञ्चालन गरेको बताउनुभयो । देशभरका चार हजारभन्दा बढी समिति गठन गरिएका छन् ।
बढ्दो बेरोजगारी, आर्थिक अभाव, सामाजिक अपहेलना तथा उपेक्षाका कारण यस्ता घटना बढ्ने गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोगसँगै बढ्दै गरेको साइबर अपराधका कारण आत्महत्याका घटना बढ्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
प्रहरीको अनुसन्धानले आत्महत्या रोकथामसम्बन्धी प्रयासमा ज्ञान, सीप तथा जनचेतनाको कमी देखाएको छ भने रोकथामका लागि वैज्ञानिक अनुसन्धानसमेत भएको देखिँदैन । आत्महत्या गर्ने सोचाइ भएका व्यक्तिको मनोचिकित्सा गर्न मनोवैज्ञानिक परामर्शको समेत कमी छ । सामाजिक अपहेलना तथा मानसिक रोग लुकाउने प्रवृत्तिका कारण यस्ता घटना बढ्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपालका कार्यक्रम संयोजक पार्वती श्रेष्ठले आत्महत्याको मुख्य कारण मानसिक स्वास्थ्य समस्या रहेको बताउनुभयो । उहाँले ९५ प्रतिशत आत्महत्या मानसिक स्वास्थ्य समस्याका कारण र त्यसको ८० प्रतिशत अवसाद (डिप्रेसन)का कारण हुने अध्ययनबाट देखिएको बताउनुभयो ।
आत्महत्या रोकथामका लागि आवश्यक परामर्श तथा मानसिक स्वास्थ्य समस्याको उपचार समयमै हुन नसक्नु, मुख्य सहरभन्दा बाहिर उचित परामर्शको समेत पहुँच नपुग्दा घटना बढ्दै गएका छन् ।
संवेदनशीलता भएन
सञ्चारमाध्यमबाट आत्महत्यासम्बन्धी समाचार सम्प्रेक्षण गर्दा विषयगत संवेदनशीलता नदेखाइएको एक अध्ययनले देखाएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मानसिक विभागले गरेको अध्ययनमा आत्महत्याका घटनाको समाचार प्रस्तुत गर्दा संवेदनशीलता नअपनाइएको पाइएको हो । प्रतिष्ठानले प्रदेश–१ अन्तर्गतका सञ्चारमाध्यममा आत्महत्यासम्बन्धी समाचारको अध्ययन गरेको थियो । आत्महत्याको समाचार लेख्ने २०४ जना सञ्चारकर्मीसँग समाचार लेखनबारे गरिएको अध्ययनमा आत्महत्याका घटनाको कमी गर्न सहयोग गर्नेभन्दा पनि घटनाको संवेदनशीलतालाई बढी प्राथमिकता दिएर समाचार लेख्ने गरेको पाइएको थियो । अध्ययन अप्रिल २०२२ देखि जनवरी २०२३ सम्म गरिएको थियो ।
प्रतिष्ठानमा मानसिक विभागका सहप्रध्यापक डा. मधुर बस्नेतले आत्महत्याका समाचार प्रस्तुत गर्दा घटनाका संवेदनशील पक्ष बाहिर ल्याउने तर रोकथाम र न्यूनीकरणका लागि के गर्ने भन्ने खालका विषय बाहिर ल्याउन नसक्दा घटना बढ्ने गरेको देखाएको बताउनुभयो ।