• ९ मंसिर २०८१, आइतबार

धुमधामका साथ मनाइँदै यःमरी पूर्णिमा

blog

काठमाडौँ, मङ्सिर २१ गते । नेवार समुदायले यःमरी पूर्णिमा धुमधामसँग मनाउने भएका छन् । यो पर्वमा बिहानदेखि नै पूजा गरी ताइचिन चामलको यःमरी (मनपर्ने रोटी) पकाएर भोज खाएर मनाउने गरिन्छ । यःमरी पर्वलाई भाइचारा बढाउने र अर्कासँग रोटी साटासाट गर्ने पर्वका रूपमा पनि हेरिँदै आएको छ । नेपाल भाषामा यःमरीको अर्थ ‘यः’ भनेको मनपर्दो र ‘मरी’ भनेको रोटी भन्ने बुझिन्छ । तसर्थ यसलाई मनपर्दो रोटी भनेर बुझ्ने गरिन्छ । 

यःमरीलाई पञ्च तत्वका रूपमा पनि लिने गरिन्छ । धरतीका रूपमा चामलको पिठो, अग्निका रूपमा चाकु, जलका रूपमा पानी, आकाशका रूपमा खाली ठाउँ र वायुका रूपमा तिललाई लिइन्छ ।

संस्कृतिविद् चुण्डा वज्राचार्यका अनुसार पहिला रोटीका नाममा सुक्खा रोटी मात्रै बन्थ्यो, अहिले जस्तो विभिन्न प्रकारका रोटी थिएन, पछि आफैँसँग भएका खाद्यान्नको उपयोग गरी नेवारहरूले यःमरीको विकास गरेका हुन् । त्यसबेला तिलको धुलो, चाकुको झोललाई मिसाएर चामलको पिठोमा राखेर आधुनिक रोटीको विकास भएको उहाँको कथन छ । यसरी नयाँ प्रकारको रोटी बनाउँदा सबैलाई मीठो लागेको र सबैलाई मन पर्ने भएकाले यसको नाम ‘यगु मरी’ हुँदै हाल ‘यःमरी’ रहन गएको वज्राचार्यले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘कृषि प्रधान देश भएकाले त्यसबेला हामी कसैप्रति निर्भर थिएनौँ । यःमरी त्यही आत्मनिर्भरताको आविष्कार हो । विशेष अवसर र समयमा मात्रै बनाइने यःमरी अहिले व्यावसायिक रूपमा बाह्रै महिना पाउन सकिन्छ । नेवार समुदायको परिचय बनेको यःमरी व्यावसायिक हुँदै गएको छ । इन्द्रचोकको गल्लीमा विगत १२ वर्षदेखि यःमरीको व्यापार गर्दै आउनुभएका सन्तमाया महर्जन भन्नुहुन्छ, ‘पहिला यःमरीको व्यापार अलि कम भए पनि अहिले भने राम्रो छ ।’ दैनिक पाँच सयवटा सम्म यःमरी बिक्री हुने जानकारी दिँदै आफूले चाकु, खुवा र मासको यःमरी बनाउने जानकारी उहाँले दिनुभयो । 

यता संस्कृतविद् ओम धौभडेलका अनुसार, यःमरी किनबेच गर्ने वस्तु नभई दान गर्ने खानेकुरा हो । यःमरीलाई व्यावसायिक बनाए पनि त्यसको मौलिकता कायम हुनुपर्ने उहाँको धारणा छ । 

समय र समाज दुवै परिवर्तन भइसकेको छ । रेस्टुरेन्टदेखि क्याफेसम्म यःमरी बन्न थालेका छन् ।  

संस्कृतविद् धौभडेलले भन्नुभयो, “यःमरी बनाउनु भनेको लक्ष्मी भिœयाउनु हो । खेती गरेर आएको चामलको पहिलो पिठोबाट यःमरी बनाउनु भनेको लक्ष्मीको आगमन गराउनु हो ।” नेवार समुदायमा यःमरीको विशेष महìव रहेको र जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवानमध्ये एक भएको उहाँ बताउनुहुन्छ । 

भक्तपुरको धनेश्वरमा यःमरी चढाएर यो पर्व मनाइने भएको छ । महाकाली नाचका मूल नाइके तुलसीनारायण दण्डेख्याका अनुसार यो दिन गरिबलाई यःमरी दान दिँदा जति दिएको हो, आगामी वर्ष त्यसको दोब्बर प्राप्त हुन्छ भन्ने कथनअनुसार यःमरी वितरण हुन्छ । तर, भीडभाडजन्य उत्सव भने यहाँ पनि हुँदैन । ज्यापू समाजले यःमरी तयार गर्ने र सभा ¥याली आयोजना गर्ने भएको छ । सभा तथा नगर परिक्रमा हुनेछ । ज्यापू दिवस पनि रहेको जानकारी दिँदै ज्यापू समाज काठमाडौँ नगर कमिटी कोषका संयोजक शान्तराज महर्जनले वाद्यवादन, झाँकी ¥याली तथा 

यःमरीसहित नगर परिक्रमा गर्ने जानकारी दिनुभयो । 

ऐतिहासिक कथन

यःमरी पूर्णिमाबारे धार्मिक कथनअनुसार तत्कालीन पाँचाल (पनौती) देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा दम्पती भगवान् विष्णुका परम भक्त थिए । उनीहरूको दयालु स्वभावको जाँच गर्न एकदिन धनपति कुवेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे । सुचन्द्रकी श्रीमतीले ब्राह्मणरूपी कुवेरलाई श्रद्धापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाउनुभयो । उहाँको सत्कारदेखि प्रसन्न भई कुवेरले आफ्नो असली रूप देखाई यःमरीको गुण र धानको भकारीमा गणेश, कुवेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर जानुभयो । त्यहीअनुरूप यःमरी पुन्हिको दिनमा पूजा गरी चढाएको यःमरी चार दिनपछि मात्र निकालेर प्रसादका रूपमा खाने चलन छ । यसले गर्दा भकारी सधैँ भरिभराउ हुने मान्यता रहिआएको छ । 

कसरी बनाइन्छ त यःमरी 

यःमरी बनाउनका लागि चामललाई पिठोमा परिणत गरिन्छ, त्यसमा घिउ हालेर तातोपानीले मुछिन्छ । यःमरी विशेषतया खुवा र चाकुको बन्छ, चाकुलाई दूधमा उमालिन्छ । मुछिएको पिठोलाई डल्ला बनाउन सुरु गरिन्छ र डल्लालाई चोर औँलाले छेडेर शङ्खाकारमा परिणत गरिन्छ । औँला घुमाउँदै जाँदा पिठो पातलिँदै जान्छ र त्यसमा उमालेको चाकु राखिन्छ । यसरी मुछिएको पिठोलाई आफू अनुकूल आकार दिइन्छ । त्यसपश्चात् तयार भएको यःमरीलाई ममको भाँडामा वाष्फीकरण गरिन्छ । 

चामलको पिठो (जाकी चुँ)बाट बनाइने हुँदा हातमा नटाँसियोस् भनेर तोरीको तेल दलिन्छ ।