पाटन (ललितपुर), असोज २८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक अध्ययन गरेर बस्ती विकास गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
विपद् जोखिम न्यूनीकरणका लागि अन्तरराष्ट्रिय दिवस—२०२५ का अवसरमा सोमबारदेखि यहाँ आयोजित विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलन समापन गर्दै आज उहाँले जलवायु परिवर्तनका कारण नेपालले हरेक वर्ष विपद्को सामना गरिरहनुपरेको भन्दै यसका लागि प्रभावकारी व्यवस्थापन र सूचना प्रणाली आवश्यक रहेको बताउनु भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको कार्यक्रम समापनमा मन्त्री घिसिङले भन्नुभयो,“नदी प्रणाली र जल व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन नसक्दा विपद् व्यवस्थापनमा समस्या देखिएको छ । खाद्य सुरक्षा र खोला किनारामा भएको अव्यवस्थित बस्ती विकासले विपद् व्यवस्थापनलाई चुनौती दिएको छ । अब कुन ठाउँमा बस्ती बसाउन सकिन्छ भनेर आवश्यक अध्ययन गरेर व्यवस्थापन गर्न आवश्यक छ ।”
उहाँले विपद् व्यवस्थापनलाई सामाजिक पक्षबाट पनि ध्यान दिनु आवश्यक रहेको उल्लेख गर्दै नेपालको करिब ३० वटा नदी क्षेत्रको जल व्यवस्थापन गर्न सकिए सिँचाइ र खानेपानीको व्यवस्थापनलाई सहज बनाउन तथा बाढी नियन्त्रणमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर दिनेश भट्टले विपद् जोखिम न्यूनीकरणका लागि भौतिक पूर्वाधारको बिमा गरिनुपर्ने भन्दै स्थानीय सरकार र नागरिक समुदायलाई सशक्त बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले विपद्का लागि काम गर्ने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।
विपद् पूर्वतयारी सञ्जाल नेपाल (डिपी नेट) का अध्यक्ष डाक्टर राजु थापाले विपदबाट जोगाउन उत्थानशील क्षेत्रमा लगानी बढाउँदै रैथाने ज्ञानको उपयोग र स्थानीय स्रोतसाधनको अधिकतम प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । रासस