• २८ असोज २०८२, मङ्गलबार

भारतको फूल विस्थापति गर्ने अभियानमा युवा

blog

फूल खेतीमा रमाउँदै जयबहादुर बस्नेत। तस्बिर : सिराज खान। नेपालगन्ज

सिराज खान

नेपालगन्ज, असोज २८ गते। जिल्लाको कोहलपुरमा मात्रै तिहारलाई लक्षित गरेर  करिब ३० कुइन्टल सयपत्री फूल उत्पादन हुँदैछ। कोहलपुर १३ का जयबहादुर बस्नेतले २० कुइन्टल र कोहलपुर तीनका विष्णुकुमारी चौधरीले १० कुइन्टल गरेर ३० कुइन्टल फूल उत्पादन हुँदैछ। 

तिहारको समयमा वर्षेनी फूलको माग बढ्दै जानु र गुणस्तरहीन भारतीय फूल प्रयोग गर्नुपर्ने स्थानीयको बाध्यतालाई ध्यानमा राखेर अर्गानिक फूल उत्पादनमा युवा सक्रिय भएका हुन्। 

कोहलपुर १३ नयाँ बस्तीका युवा जयबहादुर बस्नेतले फूलको माग पुरा गर्न १४ कठ्ठामा सयपत्री फूलखेती गर्नुभएको छ। ६ वर्षदेखि फूलखेती गर्नुभएका बस्नेतले विस्तारै उत्पादन बढाउँदै यस वर्ष करिब २० कुइन्टल  फूल उत्पादन गर्नु भएको छ। 

कोहलपुर ३ बनकटुवाका विष्णु कुमारी चौधरीले १० कठ्ठा जग्गामा फूलखेती गर्नुभएको छ। उहाँले यस पटक १० कुइन्टलभन्दा बढी फूल उत्पादन हुने  जानकारी दिनुभयो। 

सात वर्षदेखि फूलखेतीमा लाग्नु भएका चौधरीले आफूहरुले भारतीय फूललाई धेरैहदसम्म विस्थापित गर्दै गएको समेत सुनाउनुभयो। 

यस्तै खजुरा गाउँपालिकाको वडा नम्बर २ को वडा कार्यालयले पनि यस पटक फूलखेती सुरु गरेको छ।