विनय कर्ण
सप्तरी, असोज २८ गते । पानीमा लेदो भेटिएपछि सप्तरीका एक उद्योगलाई दुई लाख जरिवानासँगै बिक्रीमा पनि रोक लगाइएको छ।
सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित वीरेन्द्र फुड्स एण्ड ब्रैरभेज इन्ड्रष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवानासहित बिक्रीमा रोक लगाइएको हो ।
इन्ड्रष्ट्रिजबाट उत्पादन हुने एक्वा पानीको बोतलमा लेदो तथा आँखाले प्रष्टसँग देखिने बाह्य वस्तु (सोलिड एण्ड डस्ट) भेटिएकाले दुई लाख जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जितेन्द्र पासवानले जानकारी दिनुभयो ।
संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा ६० वटा पानीको बोतलमा लेदो भेटेपछि पानी नष्ट गरेको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख राजिन बुढाथोकीले उक्त उद्योगलाई दुई लाख रुपियाँ जरिवाना गरिएको जानकारी दिनुभयो ।