• २८ असोज २०८२, मङ्गलबार

एकैदिन तीन हजार भक्तजनले गरे पाथीभरा दर्शन

blog

मङ्गलबार पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको भिड । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २८ गते । मङ्गलबार एकैदिन करिव तीन हजार भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । यसपटकको सिजन (मौसम) मा हालसम्मकै बढी सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।  

वर्षमा दुई सिजन (मौसम) दसैँ तिहार र चैते दसैँ रामनवमीको समयलाई पाथीभरा दर्शन गर्ने मुख्य सिजन मानिन्छ । हरेक वर्ष पाथीभरा दर्शन गर्ने दुई मुख्य सिजनमध्ये अहिले दसैँ तिहारको समयमा मङ्गलबार हालसम्मकै बढी दुई हजार ८१४ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । 

मङ्गलबार पाथीभरा दर्शन गर्ने भक्तजनको सङ्ख्या यसपटकको सबैभन्दा बढी सङ्ख्या भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । हाङ्बाङका अनुसार मङ्गलबार बिहान सबेरैदेखि पाथीभरामा भक्तजनको भिड लागेको थियो । भिडका कारण लाइनमा बसेका भक्तजनले पाथीभराको दर्शन तथा पूजा गर्नलाई केही बढी समय पर्खनुपरेको उहाँले बताउनुभयो ।

भक्तजनको भिड बढे पनि पाथीभरा दर्शन तथा पूजा गर्नमा भक्तजनका लागि समितिका कर्मचारी र सुरक्षाकर्मीले सहजीकरण साथै व्यवस्थापनमा सहयोग गरेको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । समितिका अनुसार यो सिजनमा यसअघि दसैँ को विजयादशमी (टीका) को दुई दिनपछि द्वादशीका दिन दुई हजार ७१७ जना भक्तजनले पाथीभरा दर्शन गरेका थिए ।

पाथीभरा दर्शन गर्ने मुख्य सिजनअन्तर्गत दसैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्ममा कुल १६ हजार ३३२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । दसैँको घटस्थापनाको समयमा अत्यधिक भक्तजन पाथीभरा दर्शन गर्न आउने गरेकामा यसवर्ष अविरल वर्षाका कारण ठाउँठाउँमा गएको बाढी र पहिरोले यातायात सेवा अवरुद्ध हुँदा भक्तजन प्रभावित भएका थिए ।