• १० जेठ २०८१, बिहिबार

क्यानडाले बेल्जियमविरुद्ध विश्वासका साथ खेल्ने

blog

दोहा, मङ्सिर ७ गते । विश्वकप उपाधि दाबेदारमा छुटाउन नहुने अर्को टिम हो बेल्जियम। बेल्जियम पछिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो भने फिफा वरीयतामा दोस्रो स्थानमा रहेको छ। बेल्जियमको यस टिमलाई सुनौलो पुस्ता पनि भनिन्छ। जसमा केभिन डी ब्रुयन, इडेन हजार्ड र रोमेलु लुकाकुजस्ता खेलाडी हुनुहुन्छ। कागजमा बेल्जियमको टिम निकै सशक्त छ। तर पछिलो संस्करण र युरो २०२२ को प्रदर्शन हेर्दा बेल्जियमका यो सुनौलो पुस्ता प्रमुख प्रतियोगितामा अपेक्षामा खरो उत्रन सकेको छैन। त्यसैले समूह एफमा क्यानडाले बुधबार बेल्जियमविरुद्ध खेल्दा आशा होइन, जितको विश्वाससहित खेल्ने भनाइ मिडफिल्डर जोनाथन ओसोरियोले राख्नुभएको छ।

उत्तर अमेरिकी छनोटअन्तर्गत कन्केकाफ समूहमा अमेरिका र मेक्सिकोभन्दा अगाडि रहेर क्यानडा कतार २०२२ मा स्वतः चयन भएको हो। त्यसैले पनि क्यानडाबाट विश्वकपमा आश्चर्यजनक नतिजा आने आशा गरिएको छ।

बायर्न म्युनिखका फुलब्याक अलफोन्सो डेभिसको सेवा प्राप्त नहुने भएपछि इङ्ग्ल्यान्डमा जन्मिएका क्यानडाका प्रशिक्षक जोन हडम्यान भने केही चिन्तामा हुनुहुन्छ। अलफोन्सोको अभ्यासको क्रममा मांसपेशीमा खिचाव उत्पन्न भएको थियो। प्रशिक्षक हडम्यानले फ्रान्स, जर्मनी, इटाली, इङ्ग्ल्यान्ड ब्राजिल र अर्जेन्टिनाजस्तो विश्वकप फुटबलमा नाम नभए पनि क्यानडाको अहिले विश्वकपमा खेल्दाको मानसिकता ती ठूला टिमको जस्तै हुने बताउनुभयो। हामी एक समय एक खेलमा कन्द्रित हुनेछौँ– उहाँ भन्नुहुन्छ। क्यानडा सन् १९८६ पछि पहिलो पटक विश्वकपको मञ्चमा फर्किएको हो। ३६ वर्षअघि क्यानडाले विश्वकप खेल्दा समूह चरणका नै तीनै खेल हारेको थियो। 

बेल्जियम अहिले आफ्ना प्रमुख स्ट्राइकर लुकाकुको अवस्थालाई लिएर चिन्तित छ। चोटका कारण लुकाकुले विश्वकपमा सुरुका दुई खेल गुमाउने पक्का भइसकेको छ। प्रशिक्षक रोबर्ट मार्टिनेजले बेल्जियमले समूह चरण पार गरेमा नकआउट चरणमा लुकाकु महत्वपूर्ण हुने हुँदा उहाँलाई घाइते भए पनि टिममा राखिएको हो। लुकाकुले ठूला टिमविरुद्ध एक खेल मात्र खेले पनि उहाँको उपस्थितिले फरक पर्नसक्छ– उहाँको भनाइ छ। हुन पनि लुकाकुको म्याच विनर खेलाडीको छवि छ।

कोस्टारिकाविरुद्ध खेल्दा बेल्जियमका मिडफिल्डर केभिन डी बु्रयनमा सबैको नजर हुनेछ। म्यान्चेस्टर सिटीका डी बु्रयनलाई मिडफिल्डका जादुगर भनिन्छ। प्रिमियर लिगमा २२४ खेलमा उहाँको १५५ गोलमा भूमिका रहेको थियो। यसैगरी क्यानडाका जोनाथन डेभिड पनि सो खेलमा फरक पार्न सक्ने खेलाडी हुनुहुन्छ। फ्रान्सको क्लब लिलीका लागि खेल्दै २२ वर्षीय डेभिडले यस सत्रमा नै गोल गरिसक्नुभएको छ। उहाँको संलग्नता अन्य तीन गोलमा पनि रहेको थियो।

मोरक्कोविरुद्ध क्रोएसियाले जित्ने अपेक्षा

हालको इतिहासलाई हेर्ने हो भने विश्वकप फुटबलअन्तर्गत समूह एफमा बुधबार मोरक्कोविरुद्धको खेलको नतिजाले विश्वकप उपविजेता कतारमा कहाँसम्मको यात्रा गर्छ भन्ने सङ्केत गर्छ। क्रोएसियाले विश्वकपमा पाँच पटक सहभागिता जनाइसकेको छ। जसमध्ये पहिलो खेल तीन पटक हार्दा क्रोएसियाले समूह चरण पार गर्न सकेको थिएन। तर पहिलो चरणमा आफूअनुकूल नतिजा निकालेको दुई संस्करणमा क्रोएसियाले कम्तीमा सेमिफाइनलसम्मको यात्रा गरेको छ। चार वर्षअघि क्रोएसिया फाइनलमा फ्रान्ससँग हारेपछि मात्र च्याम्पियन बन्नबाट वञ्चित भएको थियो।

यस पटक क्रोएसियाले पहिलो खेलमा मोरक्कोको सामना गर्दा जित हात पार्ने अपेक्षा गरिएको छ। चार वर्षअघि फाइनल खेल्दाको टिममा रहेका प्रायः खेलाडी अहिले छैनन् तर पनि क्रोएसियाले आफ्नो स्तरीय टिमको छवि कायम राखेको छ। नेसन्स लिगमा फ्रान्स र डेनमार्कजस्ता टिम हुँदाहुँदै पनि क्रोएसियाले समूहमा शीर्ष स्थान बनाएको थियो।  क्रोएसियाका स्ट्राइकर मार्को लिभाजाले अहिले नै लामो बाटो नसोचेको र टिमको सम्पूर्ण ध्यान मोरक्कोविरुद्धको खेलमा केन्द्रित रहेको बताउनुभयो। 

छनोटको दोस्रो चरणमा मोरक्कोले कुल २० गोल गर्नुका साथै मात्र एक गोल बेहोरेर सबै छ खेल जितेको थियो। यद्यपि मोरक्कोको विश्वकपमा प्रदर्शन उल्लेखलायक छैन। अहिलेसम्म पाँच पटक विश्वकप खेलिसकेको मोरक्को सन् १९८६ मा एक पटक मात्र नकआउट चरणमा पुगेको थियो। चेल्सीका मिडफिल्डर हाकिम जिएचजस्ता विश्वस्तरीय खेलाडी भएकाले पनि मोरक्कोको टिम खतरनाक छ। यसैगरी असरफ हकिमी र युसुफ एन नासिरी मोरोक्का अन्य विश्वचर्चित खेलाडी हुनुहुन्छ। एजेन्सी