• १६ चैत २०८०, शुक्रबार

बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

blog

करिम बेन्जेमा ।

काठमाडौं, पुस ५ गते । फ्रान्सका चर्चित स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गर्नुभएको छ । बेन्जेमाले आफ्नो ३५औँ जन्मदिन मनाउने क्रममा सोमबार राति अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गर्नुभएको हो ।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा ४–२ गोलले पराजित भएको भोलिपल्टै बेन्जेमाले संन्यासको घोषणा गर्नुभएको हो । विश्वकपअघि घाइते भएका कारण बेन्जेमा फ्रान्स टोलीमा रहेपनि अन्तिममा खेल्न सक्नुभएको थिएन । बेन्जेमा फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसँग सम्बन्ध त्यति राम्रो नभएको बताइएको छ ।

कतार विश्वकपको फाइनलपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले प्रशिक्षक डेसच्याम्पको प्रशंसा गर्दै उहाँलाई अझै टोली सम्हाल्न आग्रह गर्नुभएको थियो । चोटबाट मुक्त बनिसकेपछि बेन्जेमाले अकस्मात् सामाजिक सञ्जालमार्फत संन्यासको घोषणा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सन् २००७ देखि फ्रान्सको राष्ट्रिय टोलीमा पर्नुभएका बेन्जेमाले फ्रान्सका लागि ९७ खेल खेल्दै ३७ गोल गर्नुभएको छ । उहाँलाई आफ्नै टोलीका सहकर्मी म्याथ्यु भाल्बुएनालाई मोबाइल फोनमा सेक्स टेपको रेकर्डिङ गरी ब्ल्याकमेल गरेको आरोपमा २०१६ देखि २०२१ सम्म पाँच वर्ष प्रतिबन्ध समेत गरिएको थियो ।

प्रतिबन्धपछि उहाँले गतवर्षको युरोकपबाट फ्रान्स टोलीमा पूनरागमन गर्नुभएको थियो । उहाँले गतवर्ष चर्चित बालोल डी’ओर अवार्ड जित्नुभएको थियो । सन् २००९ देखि स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आउनुभएका बेन्जेमाले रियलका लागि चारसय २२ खेल खेल्दै दुई सय २४ गोल गर्नुभएको छ । एजेन्सी