राधा लुइटेल
फिदिम, वैशाख ६ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित ‘फाल्गुनन्द गाउँपालिका प्रथम अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता’ को उपाधि नव किरण स्पोर्टिङ क्लब झापाले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा आयोजक तिजोक युवा क्लब नवमीडाँडालाई २–० गोल अन्तरले पराजित गर्दै झापाले उपाधि हात पारेको हो ।
पहिलो हाफमा दुवै टिमबाट कुनै गोल नभए पनि दोस्रो हाफमा नव किरण झापाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेको थियो ।
उपाधिसँगै विजेता टिम झापाले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको आयोजक तिजोक युवा क्लब नवमीडाँडाले १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
सिद्धदेवी माध्यमिक विद्यालय, नवमीडाँडाको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा पाँचथरसहित झापा, मोरङ, सुनसरी, इलाम लगायतका जिल्ला तथा छिमेकी मुलुक भारतका गरी ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे, वडा नं. १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बे र तिजोक युवा क्लबका अध्यक्ष हेमराज आङ्देम्बेले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगिता वैशाख १ गतेदेखि सुरु भएको थियो ।