जुम्ला समाचारदाता
जुम्ला, वैशाख ६ गते । जुम्लाको हिमा गाउँपालिका–१, बड्कीगाउँको कालिका माध्यमिक विद्यालयका शिक्षक दीपबहादुर शाहीलाई हिमा नदीको पानी घट्न थालेकोमा चिन्ता बढेको छ । उहाँलाई सिँजा दरामा बग्ने उक्त हिमा नदी घटेका कारण अहिले सिँचाइ पनि प्रभावित हुने डर बढेको छ ।
पहिले घरनजिकैको कुनाउटा, बालचौर, घोडियाढुङ्गा दह क्षेत्रमा अत्यधिक पानी हुने गथ्र्याे । ती क्षेत्रमा नुहाउन पनि कठिन हुने गर्दथ्यो तर आजभोलि ती क्षेत्रमा पानी घटेर निकै कम भएको छ ।
उहाँका अनुसार झन्डै ४० देखि ५० वर्षमा नदीको सतह एक मिटरभन्दा बढी घटेको छ । सोही गाउँका स्थानीय मुनबहादुर शाही विगतमा चैत÷वैशाखमा पनि सजिलै नदी तर्न नसकिएको स्मरण गर्दै अहिले भने पानीको सतह निकै कम भएको बताउनुहुन्छ । उहाँका अनुसार सिँजा क्षेत्रमा बग्ने हिमा नदीको पानी बर्सेनि घट्दै गएको छ । नदीमा पानीको सतह घट्न थालेपछि स्थानीय चिन्तित हुन थालेका छन् । बाढीपहिरोको समयमा अत्यधिक मात्रामा नदी बढ्ने तथा अघिपछिको समयमा पानी निकै घटिरहेको छ ।
अर्का स्थानीय दीपबहादुर शाहीले पानीको सतह घट्दा माछालगायत जलचर प्राणीको उपस्थिति पनि कम हुँदै गएको बताउनुभयो । यही नदीमा माछा मारेर जीवनयापन पनि गर्ने अवस्था विगतमा भएको भन्दै उहाँले अहिले भने सबै हराउँदै गएको उल्लेख गर्नुभयो । सरोकारवाला निकायको नजरमा पनि हिमा नदी कम हुन थालेको छ । जलवायु क्षेत्रमा लामो समयदेखि कार्यरत संस्था पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले जलवायु परिवर्तनको असरले मुहान सुक्न थालेपछि नदीको सतह पनि घटेको बताउनुहुन्छ । उहाँका अनुसार कतिबेला सिजनमा पानी आउँदैन, कतिबेला बढी पानी आएर बगेर जान्छ, जमिनमा भिज्ने पानी आउँदैन, जमिन नभिज्ने भयो, अनि मुहान घट्ने देखिन्छ । उहाँका अनुसार यो जलवायु परिवर्तन हो ।
सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले हिमा नदीको सतह घट्दै गएपछि चिन्ता थपिएको बताउनुभयो । उहाँले नदीमा जथाभाबी डोजरको प्रयोगले समस्या हुन थालेको र यसको आकार पनि परिवर्तन हुन थालेको जनाउनुभयो । यस्तै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीका अनुसार जलवायु परिवर्तनको असरले नदीमा पानीको सतह घट्दै गएको बताउनुभयो । उहाँका अनुसार अब वृक्षरोपण, मुहान संरक्षण जस्ता काम गर्नुपर्ने बेला आएको छ ।
खस भाषाका जानकार तथा कनकासुन्दरी गाउँपालिका–४ का अध्यक्ष धनमानसिंह हमालका अनुसार हिमा नदी पातारासी हिमालको पश्चिम भेग र ऋणमोक्ष पाटनको दक्षिण भागबाट सिँजा क्षेत्रको कनकासुन्दरी, सिँजा र हिमा गाउँपालिका क्षेत्र हुँदै जुम्ला र कालीकोटको सिमाना नाग्ममा मिसिने हिमा नदी सिँजा सभ्यताको पहिचान भएको बताउनुहुन्छ । यस नदीले सिँजामा लगाइने मार्सी धानको सिँचाइ र जीवजनावरको खानेपानीका रूपमा प्रयोग हुँदै आएको छ ।