• ६ वैशाख २०८३, आइतबार

मुगुमा निर्माणाधीन सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम

blog

सडक डिभिजन कार्यालय जुम्लाको आर्थिक सहयोगमा श्रीयाँ कन्स्ट्रक्सन प्रालिद्वारा निर्माण गरिएको सडक । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी
मुगु, वैशाख ६ गते ।
जिल्लाको सदरमुकाम क्षेत्रमा रेडक्रसदेखि न्युरोडसम्म सडक विस्तार गरिएको छ । सडक विस्तारको जिम्मा पाएको श्रीयाँ कन्स्ट्रक्सन प्रालिले सशस्त्र प्रहरी कार्यालय नजिक निर्माणाधीन सडक साँघुरो बनाउँदा उक्त खण्डमा सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

यो खण्डमा सडक स्तरोन्नतिको जिम्मा पाएको कम्पनीले पश्चिमतर्फ ८ मिटर र उत्तरतर्फ ६ मिटर मात्र सडक निर्माण गरेको छ । गत आर्थिक वर्षमा मुगुमकार्मारोङ गाउँपालिकाको एम्बुलेन्स सोही क्षेत्रमा दुर्घटना हुँदा एक जना चालक गम्भीर घाइते भएको सशस्त्र प्रहरी कार्यालयका एक कर्मचारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त स्थान घुम्ती मोड भएकाले सडक फराकिलो बनाउन सुझाव दिइएको भए पनि निर्माण कम्पनीले लागत बढी लाग्ने भन्दै अन्यत्र फराकिलो बनाउने जवाफ दिएको थियो ।

छायानाथ रारा नगरपालिका–२ का स्थानीय प्रेमलाल बुढाका अनुसार सशस्त्र प्रहरी क्याम्प नजिकको घुम्ती मोडमा सडक साँघुरो बनाउँदा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी दुर्घटनाको उच्च जोखिम रहेको छ । सडक निर्माणको नाममा जथाभावी काम गर्ने कम्पनी र त्यसको अनुगमन गर्ने सडक डिभिजन कार्यालय जुम्लालाई कारबाही गर्नुपर्ने उहाँको माग छ ।

सोरु गाउँपालिका–४ का चालक रमेश रोकायाका अनुसार मोडभन्दा अगाडि फराकिलो सडक निर्माण गरिएको भए पनि मोड नजिकै साँघुरो बनाइएकाले विशेषगरी चारपाङ्ग्रे सवारीका लागि जोखिम बढेको छ । दुर्घटना न्यूनीकरणका लागि डिभाइडर राख्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

श्रीयाँ कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव शाहीका अनुसार सशस्त्र प्रहरी कार्यालयको माथिल्लो भागमा जग्गाधनीले जग्गा उपलब्ध नगराएकाले उक्त खण्डमा सडक साँघुरो बनाउनुपरेको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर प्रदीप चौधरीका अनुसार नालासहित ८ मिटर चौडाइको सडक निर्माण गर्ने सम्झौता भए पनि जग्गा विवादका कारण हाल ६ मिटर मात्र निर्माण भएको छ ।