• ६ वैशाख २०८३, आइतबार

अपाङ्गमैत्री वडा कार्यालय उद्‌घाटन

blog

रेसुङ्गा नगरपालिका–३ को अपाङ्गमैत्री वडा कार्यालय भवन उद्‌घाटन गर्दै नगर प्रमुख खिलध्वज पन्थी । तस्बिर:टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), वैशाख ६ गते । गुल्मीको रेसुङ्गा नगरपालिका–३, भाडगाउँमा निर्माण गरिएको अपाङ्गमैत्री वडा कार्यालय भवनको उद्‌घाटन गरिएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले भवनको उद्‌घाटन गर्नुभएको हो । उहाँले सेवा प्रवाह राम्रो हुन पूर्वाधारको पनि महत्त्वपूर्ण भूमिका हुने भएकाले वडा कार्यालय, स्वास्थ्य संस्था, सडक लगायतका क्षेत्रमा काम भइरहेको बताउनुभयो ।

अहिलेसम्म भाडगाउँ आधारभूत स्वास्थ्य केन्द्र र वडा कार्यालय एउटै भवनबाट सञ्चालनमा रहेका थिए । जसका कारण स्वास्थ्य केन्द्रकै मापदण्ड पुगेको थिएन ।

दुई वटा कोठाबाट मात्रै सेवा प्रवाह  गर्दा वडा कार्यालयलाई पनि निकै सास्ती भएको थियो । अहिले जनप्रतिनिधि, वडा सचिव, बैठक कक्ष र हलसहितको भवन निर्माण गरिएको छ ।

अपाङ्गता भएका व्यक्ति पनि सहज रूपमा भुइँतलादेखि छतसम्म पुग्न मिल्ने गरेर वडा कार्यालय भवन निर्माण गरिएको रेसुङ्गा नगरपालिका–३ का वडाध्यक्ष बाबुराम खत्रीले बताउनुभयो ।

स्थानीय डिलाराम मरासिनीले चार लाख रुपियाँमा जग्गा खरिद गरेर वडा कार्यालयलाई निःशुल्क प्रदान गर्नुभएको थियो । उहाँलाई कार्यक्रमका बिच सम्मान गरिएको छ । स्वास्थ्य केन्द्र पनि अपाङ्गमैत्री रहेको छ ।

रेसुङ्गा नगरपालिकाका सब इन्जिनियर चक्रबहादुर खत्रीका अनुसार दुई चरणमा वडा कार्यालय निर्माण गरिएको छ । आर्थिक वर्ष २०८० माघ २८ गते जोगमा बिल्डर्स गुल्मीले ७९ लाख ८६ हजार रुपियाँमा निर्माणको पहिलो सम्झौता अनुसार काम भएको थियो भने दोस्रो पटक नवउत्कृष्ट कन्स्ट्रक्सन एन्ड सप्लायर्स नौ लाख ९५ हजार रुपियाँमा २०८२ वैशाख २८ मा निर्माण सम्झौता गरेर काम सम्पन्न गरेको सब इन्जिनियर खत्रीले बताउनुभयो ।

त्यस्तै रेसुङ्गा नगरपालिका–२ एक तलको सानो थियो । आफ्नै घर भए पनि एउटै तलमा आधारभूत स्वास्थ्य केन्द्र र वडा कार्यालयको सेवा प्रवाह मुस्किलले हुन्थ्यो ।

अहिले २० लाख खर्च गरेर तला थप गरेर आधारभूत स्वास्थ्य केन्द्र र आफूहरू छुट्टाछुट्टै तलाबाट सेवा प्रवाह गरिरहेको वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले अहिले सेवा प्रवाह सहज र एउटै भवनबाट एकीकृत रूपमा हुँदा नागरिकलाई सजिलो भएको बताउनुभयो । सब इन्जिनियर खत्रीका अनुसार रेसुङ्गा नगरपालिका-१२ मा पनि प्रशासनिक भवन निर्माण गरिएको छ । 

यो भवन निर्माण व्यवसायी र उपभोक्ता समिति मार्फत निर्माण गरिएको छ । पहिलो चरणमा उपभोक्ता समिति मार्फत आर्थिक वर्ष २०८० वैशाख २४ गते २५ लाखमा सम्झौता भएर काम भएको थियो ।

दोस्रो चरणमा बाँकी रहेका काम २०८० असोज १३ गते ४१ लख रुपियाँमा रिमार्केवल बिल्डर्सले सम्झौता गरेर सम्पन्न गरेको थियो । 

रेसुङ्गा नगरपालिका–११ का वडाध्यक्ष खुम रानाका अनुसार वडाको प्रशासनिक भवनका लागि दुई चरणमा एक करोड २८ लाख खर्च भइसकेको छ ।