सिराज खान
नेपालगन्ज, बैशाख ६ गते । बाँके जिल्लामा गत महिनामा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार फागुन महिनाको तुलनामा चैत महिनामा जिल्लामा दुर्घटना बढ्नुका साथै दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या समेत बढेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टका अनुसार गत फागुन महिनामा जिल्लामा ३३ वटा सवारी साधन दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको र ४६ जना घाइते भएका थिए भने चैत महिनामा सो सङ्ख्या बढेर ३६ वटा सवारी दुर्घटना हुन गई सात जनाको मृत्यु र ४४ जना सर्वसाधारण घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको चैत महिनाको प्रहरी प्रतिवेदनमा एक महिनाको अवधीमा जिल्लामा ३६ वटा सवारी दुर्घटना हुँदा ५४ वटा सवारी साधन दुर्घटनामा परेको जानकारी गराइएको छ ।
मासिक प्रहरी प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विष्टले चैत महिनामा ३६ वटा सवारी दुर्घटना भएको जनाउँदै ती दुर्घटनामा परेर सात जनाको मृत्यु भएको र ४४ जना घाइते भएको बताउनुभयो ।
उहाँले जिल्लामा भएका दुर्घटनाको अध्ययन र विश्लेषण गर्दा अधिकांश दुर्घटना तीव्र गतिमा सवारी साधन चलाएकै कारण भएको देखिएको जनाउँदै २७ वटा दुर्घटना तीव्र गतिका कारण भएको पाइएको बताउनुभयो ।
सोही प्रकारले चालकको लापरवाहीले एउटा, मादक पदार्थ सेवन गरेका कारण दुई र छाडा चौपायाका कारण एउटा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चेतनामूलक कार्यक्रमसँगै चेकजाँचलाई कडा पार्दै गएपनि तिव्र गतिमा सवारी साधन चलाउने क्रम नरोकिएको हुँदा दुर्घटना न्यूनिकरणमा समस्या भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक कनक बहादुर शाहीले बताउनुभयो ।
उहाँले तिव्र गतिमा सवारी चलाउने तथा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेमाथि कडा निगरानी शुरु गरिएको बताउनुभयो ।
ट्राफिक प्रहरीले दैनिकजसो जिल्लाका विभिन्न स्थानमा चेतनामूलक कार्यक्रम गरेर ट्राफिक नियमसँगै गति र अन्य सम्भावित जोखिम बारे पनि निरन्तर जानकारी गराउँदै आएको प्रमुख शाहीले बताउनुभयो ।
उहाँले दुर्घटना रोक्नकै लागि हालैमात्र ट्राफिक प्रहरीले विभिन्न सवारी साधनबाट एक हजार १०० भन्दा बढी फोकस लाइट, फग लाइट र शो लाइट निकालेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चैत महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७८१ वटा सवारी साधनमाथि कारबाही गर्दा १५ लाख ५७ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।