• ६ वैशाख २०८३, आइतबार

मयूर र मृगको सम्बन्ध

blog

जावलाखेल सदर चिडियाखानाको एउटा कुनामा मयूरको घर छ । अर्को कुनामा डाँफे चरीको । अलिपर जुरेलीको । उड्न नसक्ने चरा इमु, अस्ट्रिचलगायत चराचुरुङुगीको घर अर्को कुनामा छ ।

चिडियाखानाका सबै जीवजन्तु आआफ्नै धुनमा रमाइरहेका थिए । चिडियाखानाकै कुनाको घरमा बसोबास गर्ने मयूरले एक दिन सधैँ फर्‍याकफुरुक गर्ने मृगलाई ‘आफ्नो घरमा बोलाएर मिठो मिठो खानेकुरा दिनु पर्‍याे र मृगलाई भाइटीकामा दाइ बनाउनुपर्‍यो’ भन्ने सोचेर मृगलाई निम्तो दिन उसको घरतिर लागि ।

छुनुमुनु गर्दै मयूर आफ्नो घरतिर आइरहेको देखेर मृग पनि दङ्ग पर्‍यो । ‘आज किन यो चुलबुले मयूर मेरो घरतिर आई ? यसलाई के पो परेछ । कहिल्यै पनि यतातिर नजर नलगाउने मयूर आज कताबाट बाटो बिराइछ’ आफ्नो घरको ढोकैमा उभिएर मृगले मनमनै सोच्यो र टोलाएर मयूर भएतिर हेरिरह्यो । 

नभन्दै छुनुमुनु गर्दै मयूर आफ्नो घरको ढोकैअगाडि आई पुगी । मृगले मयूरलाई भित्र बोलायो । मयूर पनि मृगको घरको सोफामा गएर गजक्क परेर बसी ।

“किन आयौ त मयूर बहिनी ? कहिल्यै पनि हाम्रातिर आउँदिन थियौ त ? आज के काम पर्‍यो र त्यस्तो हाम्रातिर पनि आइछ्यौ ?”

मृगले आफूलाई बहिनी भनेर बोलाएकोमा मयूर मनमनै दङ्ग परी । दाजुबहिनीको साइनो गाँस्ने सोच बनाएर आएकोमा आफ्नो त मनको इच्छा पूरा हुने भयो भनेर मयूर खुसी भई । 

मयूरले कुरा खोली, “मृग दाइ भोलि मेरोमा खाना खान आउनुस् है । म त निम्तो दिन पो आएकी हुँ ।”

मयूरको घरमा गएर मिठो मिठो खान पाउने आशामा मृग पनि दङ्ग पर्‍यो । “हुन्छ बहिनी हुन्छ । तिमीले निम्ता दिएपछि नआउने त कुरै भएन नि !”

मयूरले पनि आफ्नो घर सफासुग्घर गरी, बडारकुडार, लिपपोत गरी, सफाचट पारी । मयूरले बोलाएकै समयमा मृग पनि टुप्लुक्क आइपुग्यो ।

“लौ बसौँ दाइ !” मयूरले पिर्का ओछ्याइदिई । मृग थचक्क बस्यो । मिठो मिठो खान पाउने आशामा मृगको मुख रसाइरहेको थियो ।

बदाम, किसमिस, नरिवल हालेर बनाएको मिठो खिर सानो मुख भएको सुराहीमा हालेर मृगको अगाडि राखिदिई । “ल दाइ कस्तो भयो ? मैले पकाउन जानेको यस्तै हो । मिठो मानेर खाइदिनुहोला ।” 

विचरा ! मृग हेरेको हेर्‍यै भयो । आफ्नो ठुलो थुतुनो सुराहीको मुखमा पसे पो खानु ! सुराहीको मुखको वरिपरि लागेको खिरको थोपाहरू चाट्दै चित्त बुझायो ।

मयूर चाहिँ आफ्ना चुच्चाहरूले सुराहीको खिर स्वाद मानी मानी खाँदै थिई । मृग भने खिरको थोपा चाट्दै मयूरले स्वादले खाएको हेरिरहेको थियो ।

सुराहीमा भएको सबै खिर सफाचट पारेपछि मयूरले भनी “मृग दाइ ! कस्तो लाग्यो होला खिर ?”

मृगले पनि मयूरलाई बदला लिने सोच बनाउँदै “मिठो लाग्यो बैनी, मिठो ! तिमीले त असाध्यै मिठो खिर पो पकाउँदी रैछ्यौ । साह्रै मिठो छ । बरु भोलि मेरो घरमा खाना खाने निम्तो चाहिँ तिमीलाई । आउँछ्यौ नि हैन त बहिनी ?”

मयूरले पनि मिठो खान पाउने आशाले “हुन्छ दाइ हुन्छ, म भोलि तपाईंकहाँ आउँला” भनी ।

मृग सुकेको ओठ लिएर मुरमुरिँदै घरतिर लाग्यो । पख् न ! म भोलि यो छुनुमुनु गर्ने मयूरलाई बदला नलिई त कहाँ छाडौँला र ?

मृगले पनि आफ्नो घर सफा पार्‍यो । बैठक कोठाको सोफाको धुलो झार्‍यो । झ्यालको पर्दा मिलायो । मिठो मिठो खानेकुरा तयार पारेर मयूरको बाटो हेर्न थाल्यो त्यत्तिकैमा छुनुमुनु गर्दै मयूर टुप्लुक्क ढोकामा आइपुगी ।

“आऊ बहिनी आऊ ! भित्रै आऊ न” मयूर पनि छुनुमुनु गर्दै सोफामा गएर गजक्क परेर थचक्क बसी । 

सफा पारेर माझेको काँसे (झर्का) थाल भरी स्वादिलो सुप ल्याएर राखिदियो । 

“ल खाऊ बहिनी ! मैले त तिमीले जस्तो राम्रो खानेकुरा बनाउन जानेको छैन । कस्तो भयो ? खाएर मलाई पनि भन है ? यसपालि मिठो भएन भने कुनै दिन फेरि खुवाउँंला ।” 

मृगले आफ्नो थालको सुप चाटीचुटी खायो । मयूर थाल मात्र हेरिरही तर केही बोल्न भने सकिन । हिजो आफूले गरेको गल्तीको सजाय आज भोग्नु पर्‍यो भन्ने ठानी । दाजुबहिनीको साइनो गाँस्ने आशाले फुरुङ्ङ भएकी मयूर हिस्स परी । 

भाइबहिनीहरू ! पाहुनालाई कसरी स्वागत र सत्कार गर्नु पर्छ भन्ने जानकारी पहिला नै थाहा पाई राख्नु बेस हुन्छ । मयूरले मृगलाई खान दिने भाँडाको हेक्का गर्न नजान्दा जावलाखेलको चिडियाखानामा आजसम्म मयूर र मृगको सम्बन्धमा सुधार आएको छैन रे । त्यसैले चिडियाखानामा मयूर र मृगलाई छुट्टाछुट्टै घरमा टाढा टाढा राखिएको छ । चिडियाखाना अवलोकन गर्न जाँदा मयूरलाई कहाँ र मृगलाई कहाँ राखिएको छ भन्ने कुरा याद गर्नुहोला ल !     

 मुना