खलङ्गा समाचारदाता
खलङ्गा (दार्चुला), वैशाख ६ गते । दार्चुलाको ग्रामीण क्षेत्रमा धमाधम विद्युतीकरण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत यहाँका नौ वटै स्थानीय तहमा विद्युतीकरणको काम भइरहेको हो ।
यहाँको ग्रामीण बस्तीमा विद्युत् विस्तार गर्न मुख्य लाइन र शाखा लाइन निर्माणको काम भइरहेको दार्चुला वितरण केन्द्रका सहायक प्रमुख रौशनकुमार ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका २९ हजार घरधुरीमध्ये २२ हजार पाँच सय घरधुरीमा विद्युतीकरण भइसकेको छ ।
दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत थप दुई हजार पाँच सय घरधुरीमा विद्युत् बाल्न लाइन निर्माणको काम भएर विद्युत् प्रसारणको अन्तिम तयारी भइरहेको उहाँले बताउनुभयो ।
बाँकी घरधुरीमा विद्युतीकरण गर्नका लागि बजेटको माग गरेको तथा बजेट स्वीकृत भई आएमा मुख्य लाइन तथा शाखा लाइन निर्माणको काम सुरु हुने उहाँले बताउनुभयो । यसअघि विद्युत् प्राधिकरणले दार्चुलामा दुई सयभन्दा बढी ट्रान्सफर्मरमार्फत विद्युत् वितरण गर्दै आएको छ भने आयोजनामार्फत ट्रान्सफर्मर थपिएका छन् ।
यसैबिच नेपाल भारतको सीमा क्षेत्रमा पर्ने व्यास गाउँपालिका २, मालगाउँमा विद्युत्को राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न सफल भएको उहाँले बताउनुभयो । मालगाउँका १५ घरधुरीमा विद्युत् विस्तार गरिएको बताइएको छ । निकट भविष्यमै सबै घरधुरीमा विद्युत् पु¥याउने लक्ष्य रहेको सहायक प्रमुख ठाकुरले बताउनुभयो । मालका स्थानीय जनकसिंह धामीले उज्यालोको सपना देख्दै धेरै अन्धकारमय रात बिताएपछि विद्युतीकरण भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
यहाँको महाकाली नगरपालिका, लेकम, मालिकार्जुन, दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिकालगायत अधिकांश स्थानीय तहमा विद्युतीकरणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । व्यास, मार्मा, नौगाड, अपि हिमालमा गाउँपालिकामा पनि विद्युतीकरणका लागि काम भइरहेको उहाँले बताउनुभयो ।
दार्चुलामा हालसम्म ७५ प्रतिशत घरधुरीमा बिजुली बलिसकेको छ । “करिब साढे बाइस हजार घरधुरीमा बिजुली पुगिसकेको छ, बाँकी घरधुरीमा विद्युतीकरणका लागि बजेटको पहल भइरहेको छ,” उहाँले भन्नुभयो ।
दार्चुलामा अहिलेसम्म शैल्यशिखर नगरपालिकाको बलाँच र महाकाली नगरपालिकाको थालिगाड र मार्मा गाउँपालिकाको सेलबिसा गरेर तीन वटा सबस्टेसनमार्फत विद्युत् वितरण गरिएको छ ।