• १२ वैशाख २०८१, बुधबार

मेस्सीले तत्काल सन्यास नलिने

blog

फाइनलमा फ्रान्सविरुद्ध गोल गरेपछि अर्जेन्टिनाका लियोनल मेस्सी । तस्बिर : एएफपी

मेस्सीले तत्काल सन्यास नलिने

काठमाडौं, पुस ४ गते । फिफा विश्वकपको २२औँ संस्करणपछि संन्यास लिने सोचमा रहनुभएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकपको उपाधि चुमेपछि तत्काल संन्यास नलिने बताउनुभएको छ । आइतबार राति भएको फाइनल खेलपछि मेस्सीले आफूले अझै विश्व विजेताको रूपमा केही खेल खेल्ने बताउनुभएको छ । 

यसअघि मेस्सीले कतार विश्वकप आफ्ना लागि अन्तिम हुने घोषणा गर्नुभएको थियो । ‘‘मैले भर्खर यो उत्कृष्ट ट्रफी जितेको छु । यो सुन्दर ट्रफीका लागि हामीले धेरै मिहेनत गरेका छौँ । म अझै विश्व विजेताको रूपमा केही खेल्न र जित्न चाहन्छु,’’ मेस्सीले भन्नुभयो । 

यसअघि सन् २०१४ मा आफ्नै कप्तानीमा विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएपछि मेस्सीले संन्यास लिने घोषणा गर्नुभएको थियो । तर विश्वभरका फुटबल समर्थक र अर्जेन्टिनाकै राष्ट्रपतिले आग्रह गरेपछि मेस्सीले संन्यास फिर्ता लिनुभएको थियो ।

३५ वर्षीय मेस्सीले आफ्ना लागि विश्वकप उपाधि जीवनको सबैभन्दा ठूलो सफलता भएको समेत बताउनुभयो । ‘‘म भगवानलाई धन्यवाद दिन चाहन्छु । जसले मलाई सबैथोक दिनुभयो ।खेल जीवनको अन्त्यतिर जुरेको यस विशेष क्षणप्रति धेरै आभारी छु । मैले कोपा अमेरिका कप जिते र यो विश्वकप पनि जिते । एउटा खेलाडीले यो भन्दा धेरै के नै अपेक्षा गर्न सक्छ र । म मेरा टोलीका सबै सदस्यलाई धन्यवाद दिन चाहन्छु,’’ मेस्सीले भन्नुभयो । 

मेस्सीले कतार विश्वकपबाट विश्वकपमा सर्वाधिक २६ खेल खेल्ने खेलाडीको नयाँ कीर्तिमानसमेत रच्नुभएको छ । उहाँ अर्जेन्टिनाका लागि विश्वकपमा सर्वाधिक १३ गोल गर्ने खेलाडी समेत बन्नुभएको छ । फिफा विश्वकपको फाइनलमा दुई गोल गर्नुभएका मेस्सीले सात गोल गर्दै सर्वोत्कृष्ट खेलाडीको पुरस्कारस्वरुप ‘गोल्डेन बल’ उपाधि समेत जित्नुभयो ।

फुटबल खेलमा सबै खाले उपाधि जित्नुभएका मेस्सीका लागि बाँकी उपाधि यही विश्वकप थियो । उहाँले यसको सपना समेत पूरा गर्दै आफूलाई विश्वकै महान् खेलाडीको रूपमा उभ्याउनुभएको छ । अर्जेन्टिनालाई तेस्रो पटक विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको मेस्सी प्रेरित अर्जेन्टिनाले फाइनलमा साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै उपाधि चुमेको हो । 

मेस्सीलाई पेले र नेयमारको बधाई

विश्वकप उपाधि चुम्न सफल अर्जेन्टिना र मेस्सीलाई ब्राजिलका महान् खेलाडी पेले र नेयमारले बधाई दिनुभएको छ । हाल उपचार गराई रहनुभएका ८२ वर्षीय पेलेले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत विश्वकपमा च्याम्पियन बनेको अर्जेन्टिना र लियोनल मेस्सीलाई बधाई दिनुभएको हो ।

उहाँले मेस्सीलाई बधाई दिँदै दिवङ्गत डिएगो म्याराडोना यस उपाधिबाट हाँसिरहेको हुन सक्ने बताउनुभएको छ । पेलेले मेस्सीले पहिलो पटक विश्वकप जितेको र यसका लागि उनी योग्य रहेको पनि उल्लेख गर्नुभएको छ । 


यसअघि सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताउन म्याराडोनाको ठूलो भूमिका रहेको थियो । म्याराडोनाको दुई वर्षअघि मृत्यु भएको थियो ।  विश्व फुटबलमा म्यारोडोना र ८२ वर्षीय पेलेमध्ये को सर्वोत्कृष्ट भन्ने विवाद अहिले पनि जारी छ ।

यस्तै अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएपछि ब्राजिल एवं पेरिस सेन्ट जर्मेन (पीएसजी) का सहकर्मी नेयमारले पनि मेस्सीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बधाई दिनुभएको छ । नेमारले मेस्सीलाई ‘बधाई ब्रदर’ भन्दै छोटो सन्देश लेख्नुभएको छ । उपाधि दाबेदार ब्राजिल यसपटक क्वार्टरफाइनलमा क्रोएसियासँग टाइब्रेकरमा ४–२ गोलले पराजित हुँदै घर फर्किएको थियो ।

एमबाप्पेले राष्ट्रको गौरव बढाए : राष्ट्रपति म्याक्रोन 

फ्रान्सका राष्ट्रपति  इमानुएल म्याक्रोनले कतार विश्वकपमा युवा स्टार केलियन एमबाप्पेले असाधारण प्रदर्शन गरेर राष्ट्रको गौरव बढाएको बताउनुभएको छ । आइतबार भएको विश्वकपको फाइनलमा २३ वर्षीय एमबाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो हाफको अन्तिममा खेललाई बराबरीमा ल्याउनुभएको थियो ।

एमबाप्पेले अतिरिक्त समयमा समेत बराबरी गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएका एमबाप्पेले फ्रान्सलाई उपाधि दिलाउन भने सक्नुभएन । विश्वकपको फाइनल खेलमा ह्याट्रिक गर्ने एमबाप्पे दोस्रो खेलाडीसमेत बन्नुभएको छ । यसअघि सन् १९६६ को फाइनलमा इङ्ग्ल्यान्डका  जेफ हर्स्टसले जर्मनीविरुद्ध (तत्कालीन पश्चिम) ह्याट्रिक गर्नुभएको थियो । टाइब्रेकरमा फ्रान्स ४–२ गोलले स्तब्ध बन्दै उपविजेता बने पनि उमबाप्पेको प्रदर्शनले विश्वभरका समर्थकको मन जित्न सफल भयो । 


‘‘एमबाप्पेको प्रदर्शन असाधारण रह्यो, हामी हारको नजिक थियौँ । तर एमबाप्पेले टोलीलाई खेलमा फर्काए । यस्तो प्रदर्शन फुटबलमा कमै देख्न पाइन्छ,’’ फ्रान्सका राष्ट्रपति म्याक्रोनले भन्नुभयो । फाइनलमा फ्रान्स पराजित भएपछि टोलीलाई  सान्त्वना  र हौसला दिन राष्ट्रपति म्याक्रोन मैदानमै प्रवेश गर्नुभएको थियो । कतार विश्वकपमा सर्वाधिक आठ गोल गर्नुभएका एमबाप्पेले ‘गोल्डेन बुट’ अवार्ड पाउनुभयो ।  एमबाप्पेको सहभागितामा फ्रान्सले सन् २०१८ को विश्वकप जितिसकेको छ । एजेन्सी