• ७ वैशाख २०८१, शुक्रबार

विश्वकपमा चम्केका खेलाडी भित्र्याउन क्लबहरूको चासो

blog

दोहा, पुस ४ गते । विश्वकप फुटबल प्रतियोगिता व्यावसायिक फुटबलका लागि ठूलो मञ्च हो। विश्वकपमा विश्वकै नजर रहेको हुन्छ। त्यसैले विश्वकपमा चम्कने खेलाडीलाई युरोपेली क्लबहरूले पनि आँखा लगाइरहेका हुन्छन्। आगामी जनवरीमा ट्रान्सफर विन्डो खुल्दै छ। त्यसैले उदीयमान खेलाडीका लागि कतार विश्वकप आफूलाई सही साबित गर्ने सबभन्दा उपयुक्त मञ्च बनेको छ। यस विश्वकपबाट पनि केही खेलाडी ठूला क्लबमा ठूला रकममा अनुबन्धित हुने पक्का छ।

अहिले विश्वकै ठूला क्लबमध्ये एक म्यान्चेस्टर युनाइटेडलाई क्रिस्टियानो रोनाल्डोको स्थान परिपूर्ति गर्नु छ। गत महिना आपसी समझदारीमा म्यान्चेस्टर युनाइटेडले रोनाल्डोलाई क्लबबाट बिदा गरेको थियो। प्रिमियर लिगकै अर्को ठूलो क्लब लिभरपुलले नयाँ मिडफिल्डरहरू खोजिरहेको छ। स्पेनका दुई हेभिवेट क्लब रियल म्याड्रिड र बार्सिलोना सधैँ नयाँ स्वाद दिन सक्ने खेलाडीको खोजीमा रहेका हुन्छन्। कतार विश्वकपबाट पनि यी चार उदीयमान खेलाडीको भाग्य बदलिने अपेक्षा गरिएको छ।

गोन्कालो रामोस (पोर्चुगल)

कतार विश्वकपको आधा समयभन्दा बढी बितिसक्दा गुमनाम पोर्चुगलका गोन्कालो रामोसले अकस्मात् विश्व फुटबलमा आफ्नो नाम बनाउनुभएको थियो। स्विट्जरल्यान्डविरुद्धको प्रिक्वाटरफाइनलमा विश्वका सर्वश्रेष्ठ स्ट्राइकर मानिएका क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेल्न मौका पाएका रामोसले आफ्नो पहिलो खेलमै ह्याट्रिक गर्नुभयो। २१ वर्षीय रामोस यस विश्वकपमा ह्याट्रिकको गौरव हासिल गर्ने पहिलो खेलाडी बन्नुभयो। रामोसको ह्याट्रिकको सहयोगमा पोर्चुगलले स्विट्जरल्यान्डलाई सजिलै ६–१ ले हराएर क्वाटरफाइनलमा स्थान बनायो। गत महिना विश्वकपको टिममा परेका रामोसले यसअघि पोर्चुगलका लागि कहिल्यै पनि नियमित ११ मा खेल्नुभएको थिएन। २६ सदस्यीय टिममा उहाँलाई २६ नम्बरको जर्सी दिइएको थियो तर स्विट्जरल्यान्डविरुद्धको खेलपछि रामोस विश्वले चिन्ने नाम भइसकेको छ। 

बेन्फिकाबाट खेल्ने २१ वर्षीय फरवार्डले विश्वकपमा आउनुअघि पनि आफ्नो कलबका लागि १४ गोल गर्नुभएको थियो। अब विश्वकपमा पनि आफ्नो अमिट छाप छोडेपछि जनवरी ट्रान्सफर विन्डोमा उहाँमाथि ठूलो रकमको बोली लाग्ने पक्का छ।

युड बेलिङ्घम (इङ्ग्ल्यान्ड)

इङ्ग्ल्यान्डका मिडफिल्डर युड बेलिङ्घम अहिले १९ वर्षका हुनुहुन्छ। यद्यपि यस सत्रको अन्त्यसम्ममा बेलिङ्घमले विश्वका चर्चित खेलाडी बन्ने छनक देखाइसक्नुभएको छ। कतार विश्वकपमा बेलिङ्घमले आफूलाई साबित गरेपछि अहिले म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी, लिभरपुल र पेरिस सेन्ट जर्मेनजस्ता टिम उहाँको प्रशंसा गरिरहेका छन् । विश्वकपमा बेलिङ्घमले एक गोल गर्नुका साथै अर्को एक गोलमा सहयोगीको भूमिका निर्वाह गर्नुभयो। बेलिङ्घम विश्वकपका गोलमा सहयोगीको भूमिका निर्वाह गर्ने इङ्ग्ल्यान्डका लागि सबभन्दा कान्छा खेलाडी पनि हुनुहुन्छ। 

बेलिङ्घम अहिले जर्मनीको बोरुसिया डर्टमन्डबाट खेलिरहनुभएको छ। डर्टमन्ड आफ्ना स्टार खेलाडी बिक्री गरेर आम्दानी गर्नमा कहलिएको छ। त्यसैले आगामी जनवरीमा डर्टमन्डले लोकप्रियतालाई भजाउँदै बेलिङ्घमलाई बिक्री गर्ने सम्भावना छ। यसो भएमा बेलिङ्घममाथि ठूला क्लब लालायित हुने पक्का छ। खालि यी किशोर उमेरका स्ट्राइकरलाई कति मूल्यमा बिक्री गरिन्छ भन्ने मात्र प्रश्नका रूपमा रहेको छ।

आजेदिन ओनाही (मोरक्को)

यस विश्वकपमा मोरक्कोको यात्रा परिकथा भन्दा कम छैन। सबैको अनुमानविपरीत मोरक्कोले बेल्जियम, स्पेन र पोर्चुगलजस्ता टिमलाई हराएर सेमिफाइनलसम्मको यात्रा ग-यो। सो यात्रामा मोरक्कोका धेरै नायकमध्ये एक हुन्, मिडफिल्डर आजेदिन ओनाही। स्पेनसँगको खेलमा विपक्षी प्रशिक्षक लुइस इनरिके पनि उहाँको प्रशंसा गर्न बाध्य हुनुभयो। “ओनाही निकै राम्रो खेल्छन्। खेलभरि उनी दौडन छोड्दैनन्,” स्पेनका प्रशिक्षक इनरिकले भन्नुभएको थियो। २२ वर्षीय ओनाही प्राविधिक रूपमा निकै सक्षम खेलाडी हुनुहुन्छ। कतार विश्वकपमा उहाँ एक ‘कम्प्लिट मिडफिल्डर’का रूपमा देखिनुभयो। अहिले उहाँ फ्रान्सको शीर्ष डिभिजनमा पुछारमा रहेको क्बल एन्जर्ससँग आबद्ध हुनुहुन्छ। त्यसैले पनि विश्वकपछि उहाँ ठूलो क्लबमा स्थानान्तर हुनसक्ने सम्भावनालाई नर्कान सकिँदैन।

कोडि गाक्पो (नेदरल्यान्ड्स) 

पिसभी आइन्डहोनका फरवार्ड कोडि गाक्पोलाई म्यान्चेस्टर युनाइटेडले विश्वकपको समयमै आफ्नो टिममा ल्याउन इच्छुक रहेको बताइसकेको छ। म्यान्चेस्टरले गाक्पोलाई रोनाल्डोको विकल्पका रूपमा हेरिसकेको छ। नेदरल्यान्ड्सका गाक्पो यस विश्वकपमा चम्किएका फरवार्ड हुनुहुन्छ। उहाँले समूह चरणका तीन खेलमा गोल गर्नुभयो। यस विश्वकपमा नेदरल्यान्ड्सका लागि तीनै खेलमा पहिलो गोल गाक्पोले नै गर्नुभएको हो। एक समय उहाँ गोल्डेन बुटको दाबेदार पनि हुनुहुन्थ्यो। अग्लो कद र शारीरिक  रूपमा बलिया गाक्पो गोल गर्न मात्र होइन, साथी खेलाडीलाई गोलका लागि पास मिलाइदिन पनि उत्तिकै माहिर हुनुहुन्छ। विश्वकपमा गाक्पो नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालको प्रमुख हतियार बन्नुभएको थियो। भान गालले पनि गोक्पो आधुनिक फुटबलका स्ट्राइकर रहेको बताउँदै उनमा फुटबल स्टार बन्ने सबै गुण भएको जानकारी दिनुभयो।

जोस्को ग्वार्डियोला (क्रोएसिया)

कतार विश्वकपअगाडि जोस्को ग्वार्डियोललाई अनुहारमा चोट लागेको थियो। त्यसैले उहाँले मास्क लगाएर विश्वकप खेल्नुभयो। त्यसैले पनि उहाँ विपक्षीका लागि अझ खतरनाक डिफेन्डर देखिनुभयो। क्रोएसिया सेमिफाइनलसम्म पुग्नुमा २० वर्षीय सेन्टर ब्याक ग्वार्डियालाको ठूलो भूमिका रह्यो। बेल्जियम र ब्राजिललाई हराउँदा उहाँको प्रदर्शन गजबको थियो। जर्मनीको आरबी लेप्जिगबाट खेल्ने ग्वार्डियोलामािथ अहिले नै थुप्रै ठूला क्लबले नजर लगाइसकेका छन्। खालि उहाँ कहाँ जानुहुन्छ भन्ने मात्र हेर्नलायक विषय हो। उहाँले लियोनेल मेसीलाई पनि राम्ररी रोक्नुभएको थियो। सेन्टर ब्याक भएर पनि ग्वार्डियोलाले तेस्रो स्थानका लागि मोरक्कोबाट भएको खेलमा डाइभिङ हेडरमार्फत गोल पनि गर्नुभएको थियो।