• २७ वैशाख २०८१, बिहिबार

बागमती नदी सफाइ

आज सफाइ भोलि उस्तै

blog

काठमाडौँ, कातिक ५ गते । बागमती नदी सफाइ कार्य ‘हिँड्दै छ, पाइला मेट्दै छ’ भन्ने भनाइसँग मिल्दोजुल्दो छ । एक महिनाअघि बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै फोहोर हुने गरेको छ। 

जनचेतना अभिवृद्धि नभएसम्म बागमतीको सफाइ सम्भव छैन भने निर्मल पानीमा नीलो आकाश हेर्ने उपत्यकावासीको सपना साकार हुन नसक्ने बागमती सरसफाइ अभियानको लामो अनुभवले देखाएको छ। मुख्य रूपले जनचेतनाको अभाव र घरटोलमा नै फोहोरको व्यवस्थापन हुन नसक्दा बागमती सफाइका क्रममा आशातीत सफलता हासिल हुन नसकेको बागमती सफाइ अभियान्ताको अनुभव छ। बागमती सरसफाइ अभियानको ४९३औँ हप्ता सम्पन्न भइसकेको छ। २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाभियान सुरु भएको थियो।

बागमती सफाइ अभियानका मुख्य योजनाकार तथा पूर्वमुख्यसचिव लीलामणि पौड्यालले बागमतीलगायतका नदीनालामा फोहोर नफाल्न मानिसको आनीबानी र चेतनामा सुधार हुनुपर्ने बताउँदै सफाइ अभियन्ताको प्रयासले मात्र मानिसको आनीबानीमा सुधार नहुने र त्यसका लागि सबै निकायको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार अहिलेसम्म बागमतीबाट २० हजार मेट्रिक टन फोहोर निकालिएको छ।

सफाइ अभियानले नदीमा फोहोर फाल्ने प्रवृत्तिलाई रोक्न नसकेको बताउँदै भन्नुभयो, “यसका लागि नियमन गर्ने मुख्य निकाय भनेको सम्बन्धित पालिका हुन्। पालिकाले दण्ड गर्नुपर्छ। दण्ड गरेर मात्र पुग्दैन, कुहिने नकुहिने फोहोर छुट्याउन सिकाउनुपर्छ।  फोहोर नछुट्याउनेलाई कारबाही गर्नुपर्छ। पालिकाले पनि छुट्याइएको फोहोरलाई मिसाएर व्यवस्थापन गर्नुहुँदैन।”

पूर्वसचिव तथा बागमती सफाइ अभियान्ता किशोर थापाले सफाइ अभियान सुरु भएदेखियता सफाइ गरिएको ठाउँमा पुनः सफाइ गर्न जाँदा फोहोर राखिएका प्लास्टिकका पोका र जुटका बोरा भेटिने गरिएको बताउनुभयो। 

आमनागरिकमा चेतनाको विकास, घर, टोलछिमेकमा नै फोहोरको व्यवस्थापन तथा यससँग सम्बन्धित कानुनको निर्मम कार्यान्वयन नगरेसम्म बागमतीलगायतको सरसफाइ अभियानले मूर्त रूप लिन नसक्ने उहाँको भनाइ छ।

बागमती सफाइ अभियन्ता चन्द्रबहादुर चन्दले सम्बन्धित पालिका र स्थानीय निकायले आवश्यक चासो र तदारुकता नदेखाएका कारणले बागमती सफाइ अभियानले सोचेजस्तो सफलता हासिल गर्न नसकेको बताउनुभयो।

ललितपुरको ज्वागलस्थित बन्दै गरेको ‘फोहोरको डम्पिङ साइट’ नजिकै रहेको सुकुम्बासी बस्तीका कारण थापाथली पुल क्षेत्रमा फोहोर पटक–पटक सफा गरिए पनि फोहोर कम हुन नसकेको उहाँले अनुभव छ।

बागमती सफाइ महाभियान सुरु भएपछि उपत्यकाका नदी सफाइमा जागरण फैलिएको छ । 

उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरा, हनुमन्ते, इन्द्रमती, चक्रपथका विभिन्न स्थानमा पनि सफाइ अभियान भइरहेको छ । उपत्यकाबाट सुरु भएको अभियान हाल देशव्यापी बनेको छ । प्रमुख सहरका ४५ स्थानमा हाल सरसफाइ अभियान सञ्चालन भइरहेको बागमती सफाइ अभियानले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नदी, खोलानालालगायत अन्य सार्वजनिक स्थलको सरसफाइ स्थानीय तहबाट नै होस् भन्ने उद्देश्यसहित नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइसम्बन्धी कार्यविधि निर्माण गरी सोको कार्यान्वयनका लागि सबै स्थानीय तहलाई पठाइसकेको छ।