• १३ असोज २०८२, सोमबार

प्रधानमन्त्रीको शुभकामना : निर्वाचन र सुशासनमा जोड

blog

प्रधानमन्त्री सुशीला कार्की । फाइल तस्बिर

काठमाडौँ, असोज १३ गते । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन,  सुशासन र सामाजिक मेलमिलापमा जोड दिनु भएको छ । 

प्रधानमन्त्रीको स्वकीय सचिवालयमार्फत बडा दशैं–२०८२ को अवसरमा  उहाँले दिनुभएको शुभकामना सन्देशमा बडादसैंले पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सद्भाव बढाउन टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । 

यस वर्षको विशेष परिस्थितिका कारण प्रधानमन्त्री स्वयंले बडा दशैंको टिका जमरा नलगाउने र देशबासीलाई समेत टिका लगाउने कार्यक्रम नरहेको जानकारी गराइएको छ ।

हालै सम्पन्न युवापुस्ताको आन्दोलनका क्रममा धेरै युवाले ज्यान गुमाउनु परेको पीडादायी घटनालाई स्मरण गर्दै यस्तो निर्णय लिइएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ ।

प्रधानमन्त्रीकाे सन्देशमा भनिएको छ, “युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको हो । यस सरकार प्रतिनिधिसभाको निर्वाचन तोकिएको मितिमै सम्पन्न गर्न कटिबद्ध छ । साथै, सुशासन कायम गर्दै देशलाई स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउने हाम्रो दृढ प्रतिबद्धता छ ।”

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ ।

दशैंको सन्देशमार्फत प्रधानमन्त्रीले दुर्गा भवानीले सम्पूर्ण राष्ट्रलाई शक्ति प्रदान गरून् भन्ने कामना गर्दै समग्र राष्ट्रको कल्याणका लागि एकताबद्ध भई देश विकासमा लाग्न सबैमा हार्दिक अपील गर्नुभएको छ ।