• ११ वैशाख २०८१, मङ्गलबार

दशैंलाई लक्षित गरी देशभर आजदेखि रुट परमिट खुला

blog

फाइल तस्बिर

काठमाडौं, असोज १० गते । दशैं, तिहारका लागि आ–आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले देशभर ‘रुट परमिट’ खुला गरेको छ । अब सवारी साधनले चाहेकाे ठाउँमा जान पाउँछन् । दशैँ पूर्णिमा असोज २३ गतेसम्मका लागि यात्रु आ–आफ्नो घर जान र फर्कन सजिलोका लागि यो व्यवस्था लागू गरिएको हो ।

यातायात व्यवस्था विभागले विशेष प्रकृतिका बाटोका कारण निषेध गरिएका सवारीसाधनलाई भने बन्देज कायम रहने जनाएको छ । बर्सेनि दशैँमा काठमाडौं उपत्यकाबाट ठूलो सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयकुमार स्वाँरका अनुसार गत वर्ष १० लाख यात्रु उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष त्यो सङ्ख्या दोब्बर हुने उहाँले बताउनुभयो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वाँरका अनुसार गत वर्ष १० लाख यात्रु उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष त्यो सङ्ख्या दोब्बर हुने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘काठमाडौंबाट मात्रै होइन, उपत्यका बाहिरका सहर र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु बाहिरिन्छन् । कतिपय यात्रु भित्रने भए पनि त्यो संख्या न्यून हुन्छ ।’ उपत्यका भित्रिने गाडी भने खालीजस्तै फर्किनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

सुरक्षित यात्राको कामना 

ट्राफिक प्रहरीले सोमबार सवारी साधनका चालकलाई फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरेको छ । चाडपर्व लक्षित चल्ने लामो दूरीका सवारी साधनका चालकलाई काठमाडौंको नयाँ बसपार्कमा फूलमाला लगाएर सुरक्षित यात्राको कामना ट्राफिक प्रहरीले गरेको थियो । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीसहितको टोलीले चालकलाई माला लगाएर सुरक्षित यात्राको कामना गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । 

उहाँका अनुसार दशैँ, तिहारलगायत पर्व मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधन र यात्रुको चाप ह्वात्तै बढेको छ । यो समयमा थप सचेत भएर सवारी साधन चलाउन आवश्यक रहेकाले चालकलाई हौसला दिइएको उहाँले बताउनुभयो ।  

न्यूरोड प्रवेशमा रोक 

न्यूरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले चार दिन न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक, निजी तथा दुई पाङ्ग्रे सवारी साधनलाई निषेध गरेको छ ।

ट्राफिक प्रहरीले चार दिन न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक, निजी तथा दुई पाङ्ग्रे सवारी साधनलाई निषेध गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्म खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइको छ । उहाँले भन्नुभयो, ‘दशैँ तिहारलाई लक्षित गरी सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने सवारी साधनलाई निषेध गरिएको छ ।’ सवारी चाप सामान्य हुने बित्तिकै खुल्ने उहाँले जानकारी दिनुभयो ।

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।