• १ भदौ २०८२, आइतबार

काठमाडौँमा मनाइयो थारु समुदायको ‘अष्टिम्की’

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी।

काठमाडौँ, साउन ३१ गते। थारु समुदायले काठमाडौँमा ‘अष्टिम्की’ पर्व मनाएको छ। ‘अष्टिम्की’ थारु समुदाय जम्मा भएर काठमाडौँको बुद्धनगरमा मनाएको हो।

अष्टिम्कीको दिन थारू समुदायका महिला, पुरुष निराहार व्रत बस्छन्। संस्कर र संस्कृतिमा धनी थारु समुदाय राज्यबाट अझै बञ्चित रहेको कुरा स्वीकार गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले आफ्नो भाषा, संस्कृतिको संरक्षणका लागि आफू सधैँ लागि परेको र लागि रहने प्रतिवद्धता जनाउनुभयो।

फरक प्रसङ्गमा उहाँले नेपालमा ६.२ प्रतिशत थारु रहेको तर राज्यको हरेक पक्षबाट पछाडि पारिएको भन्दै सहयोग गर्न तयार रहेको बताउनुभयो। टीकापुर घटनालाई सम्झना गर्दै उहाँले थारुले खोलेको पार्टी किन टिक्दैन, यदि यो भन्दा पहिले खुलेका थारु सम्बद्ध पार्टी चलेको भए आज रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी जन्मिनु नै नपर्ने तर्क गर्नुभयो।


सूर्यास्तपछि ‘अष्टिम्की’को चित्र बनाइएको भल्मन्सा वा महतौवाको घरमा टपरीमा चामल, बलिरहेको दियो, दुई वटा काक्रा वा कागती राखेर ‘अष्टिम्की टीक्न’ जाने चलन छ। त्यही टिकेको पूजाको समान सबैले बिहान उठाएर नजिकैको तलाउ, पोखरी, नदीमा सेलाउन र सेलाएर नुहाइएपछि फरहारा गरेर ‘अष्टिम्की’ पर्व सकिने थारु कल्याणकारी सभाका उपमहामन्त्री तथा गुठी संस्थानका पूर्व अध्यक्ष मिनराज चौधरीले बताउनुभयो। उहाँले थारु अन्दोलन जारी रहेको उल्लेख गर्नुभयो।

‘अष्टिम्की’ पर्व विशेष गरी महिलासँग सम्बन्धित रहेको थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारुले बताउनुभयो। उहाँका अनुसार यो पर्वमा पुरुषको उपस्थिति कम हुन्छ। तर पुरुषहरू पनि रातभरि ‘अष्टिम्की’ गीत गाउँछन्। साझाको पूजापछि व्रतालु फलफूल, दही मात्रै खान्छन्। बिहान फलाहारा गरेर चढाइएको प्रसाद, खरिया, फुलौरीलगायतका विशेष पकवान पकाइन्छ त्यसमा माछाको परिकार अनिवार्य हुन्छ। खानुअघि प्रत्येक भागबाट खाने कुरा निकाल्ने चलन छ। जसलाई ‘अग्रासन’ भनिन्छ। त्यही ‘अग्रासन’ थपथाप गरेर छोरी चेलीको घरमा दाजुभाइले दिन जाने उहाँले बताउनुभयो।

‘अष्टिम्की’ टीक्नको लागि गाउँ घरको भित्तामा श्रीकृष्ण, चन्द्रमा, सूर्य, पाँच पाण्डव, कौरव, राम, सीता, रावण, डोली, वनजंगलदेखि मयूर, ऊट, हात्ती, डुँगा, माछा, घोडा, भालेलगायत पशुपंक्षीको चित्र बनाउने विष्णु चौधरीले बताउनुभयो। ‘अष्टिम्की’ टीक्न साँझ प्रत्येक घरबाट चामल, बलिरहेको दियो, काँक्रो आदि लिएर पूजा गर्न जान्छन्। पूजा सम्पन्न भएपछि रातभरि श्रीकृष्णको गीत गाइन्छ।

समुदायमा पृथ्वी उत्पत्तिको अनेक किम्वदन्ती रहेको सुरेन्द्र चौधरीले बताउनुभयो। थारू समुदायमा यही पृथ्वी उत्पत्तिको कथाबाट श्रीकृष्ण गाथाको सुरुवात हुने उहाँको भनाए छ।

गायिका समीक्षा चौधरीले “पहिले ते सिरिजल जलथल धरती, सिरिजे ते गइल हो कुश धेरै दाभ” बोलको गीत गाउनुभयो। 





Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।