• २० वैशाख २०८१, बिहिबार

म्यादी प्रहरीको तालिम चल्दै, कात्तिक ९ बाट परिचालन हुने

blog

काठमाडौं, कात्तिक ५ गते । अहिले म्यादी प्रहरीको तालिम चलिरहेको छ । असोज ३० देखि कात्तिक ८ गतेसम्म तालिम सञ्चालन हुनेछ । तालिम सकेको भोलिपल्ट अर्थात् कात्तिक ९ गतेबाट सुरक्षामा म्यादी प्रहरीलाई परिचालन गरिने प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।

उहाँका अनुसार प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आह्वान गरेको थियो । कात्तिक ९ गतेदेखि परिचालन गरिने सुरक्षा कार्ययोजनाअनुसार छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ गतेसम्म तालिम दिइनेछ ।

प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आह्वान गरेको थियो ।

निर्वाचन सुरक्षाका लागि तालिम प्रहरीबाट दिने र कार्यअवधिभर म्यादी प्रहरी, प्रहरीकै कमाण्डमा रहेर काम गर्नुपर्नेछ । प्रवक्ता राईका अनुसार आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्थाको तयारी भइरहेको छ । 

निर्वाचनका लागि करिब तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयको निर्वाचन सुरक्षा कार्ययोजना छ । जसमा करिब ७५ हजार सेना, ६५ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका करिब एक हजार पाँच सय र एक लाख १५ हजार म्यादी प्रहरी खटाउने तयारी गरिएको छ ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार सात प्रदेश र उपत्यकाबाट दुई लाख ३२ हजार ७८ जनाले दरखास्त दिएका थिए । त्यसमध्ये एक लाख ७१ हजार ७१० पुरुष र ६० हजार ३७० जना महिलाको सङ्ख्या छ । यो सङ्ख्या माग गरेभन्दा एक लाख १७ हजार ७८ जना बढी हो । 

निर्वाचनका लागि करिब तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयको निर्वाचन सुरक्षा कार्ययोजना छ ।

प्रदेश १ मा ३५ हजार ८२६, मधेस प्रदेशमा ६६ हजार ८८४, बागमतीमा २१ हजार १०६, गण्डकीमा १५ हजार ९०९, लुम्बिनीमा ४३ हजार ९०५, कर्णालीमा १४ हजार ९३६, सुदूरपश्चिममा २४ हजार ४४० र काठमाडौं उपत्यकामा नौ हजार ७२ जनाको आवेदन परेको छ ।

कुन प्रदेशमा कति म्यादी प्रहरी खटाउने विषय मतदान स्थल र मतदान केन्द्रमा सुरक्षा चुनौती हेरेर कोटा निर्धारण हुने बताइएको छ । प्रवक्ता राईले भन्नुभयो, “तोकिएको मापदण्डअनुसार प्रक्रिया अघि बढेको छ ।” सबैभन्दा बढी दरखास्त मधेस प्रदेश र सबैभन्दा कम कर्णालीमा प्रदेशमा परेको छ  । म्यादी प्रहरीको नतिजा असोज २५ गते प्रकाशित भएको थियो ।

तलब १५ प्रतिशत वृद्धि

चालु आर्थिक वर्षमा सबै राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशत बढेकाले म्यादीले पाउने तलब पनि सोहीअनुसार कायम भएको छ । म्यादी प्रहरीले ४० दिनको तलब, भत्ता, खाजा बापतको ५० हजार १६० रुपियाँ पाउनेछन् । 

स्थानीय निर्वाचनको तुलनामा म्यादीलाई करिब ६ हजार रुपियाँ बढी दिइएको छ । म्यादीको तलब प्रहरी जवानको सुरु तलब स्केलअनुसार निर्धारण गरिएको छ । 

म्यादीमा नियुक्ति भएको ३० दिनपछि ५० प्रतिशत र बाँकी रकम अवकाशमा जानुअघि भुक्तानी दिइने मापदण्ड छ  । रासनबापत पाउने भत्ता नियुक्ति बुझेको १० दिनभित्र २० दिनको र बाँकी २० दिनको अवकाशमा जानुअघि उपलब्ध गराइनेछ  । अर्थ मन्त्रालयले म्यादी प्रहरीका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपियाँको व्यवस्था गरेको छ ।

मापदण्ड कडा 

म्यादी प्रहरीले बहाल रहेसम्म आचारसंहिता र मापदण्ड पालना गर्नमा कडाइ गरिएको छ । कार्य अवधिभरी म्यादी प्रहरीले सामाजिक सञ्जालमा टीकाटिप्पणी तथा जथाभाबी सामग्री राख्न र सेयर गर्न पाउन छैनन् । ड्युटी समयमा मोबाइल फोन पनि प्रयोग गर्न पाइने छैन । 

अर्थ मन्त्रालयले म्यादी प्रहरीका लागि पाँच अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपियाँको व्यवस्था गरेको छ ।

आफ्नो काम सहकर्मी वा अरु सुरक्षाकर्मीलाई बुझाएर हिँड्न पनि पाइने छैन । मापदण्डविपरीत गतिविधि गरेमा तत्काल बर्खास्त गरी कारबाही गर्ने प्रावधान पनि मापदण्डमा उल्लेख छ । 

म्यादीले पाउने सुविधा 

बहाल अवधिभरि जिम्मेवारी निर्वाह गर्ने क्रममा म्यादी प्रहरी घाइते भएमा सरकारले निःशुल्क उपचार र मृत्यु भएमा नजिकको हकदारलाई सरकारले तोकिएबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने मापदण्डमा उल्लेख छ । कार्यविधिमा गैरहाजिर भए, बीचमा भागेमा कुनै सुविधा पाइने छैन । 

करार अवधिभन्दा अघि नै काम छोड्ने अवस्था आएमा २० दिनभन्दा बढी काम गरेको भएमा कार्यरत रहेको दिनसम्मको सेवासुविधा दिइने र कृया बिदाबाहेक अरु बिदा दाबी गर्न पाइने छैन । छनोट भएका म्यादी प्रहरीले नियुक्तिका लागि तोकिएभन्दा तीन दिनपछि आए र नियुक्ति बुझेर पनि २ दिनसम्म सम्पर्कमा नआए छनोट रद्द हुने व्यवस्था गरिएको छ । 

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।