• १६ चैत २०८०, शुक्रबार

विश्वमा वार्षिक ७६ करोड ५० लाख किशोरीको बालविवाह

blog

काठमाडौं, कात्तिक ७ गते । “गर्व गरौँ छोरी जन्माउनमा” मूल नाराकासाथ यस वर्षको अन्तर्राष्ट्रिय बालिका दिवस हालै मनाइएको छ । दशौँ अन्तर्राष्ट्रिय बालिका दिवस, २०२२ मनाइ रहँदा कार्यक्रममा युनिसेफले गरेको एक विश्लेषणमा विश्वभर वार्षिक ७६ करोड ५० लाख बालिकाको बालविवाह हुनेगरेको देखिएको छ । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवले यस वर्षको अन्तर्राष्ट्रिय बालिका दिवसमा नेपालले आफ्नो मुख्य विषय बालविवाह अन्त्यलाई मानेर कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । बालविवाह न्यूनीकरण गर्न सरकार सचेत रहेकाले त्यसबारेमा विभिन्न कार्यक्रमहरू हुनेगरेको उहाँको भनाइ छ । 

१९ डिसेम्बर २०११ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको विशेष प्रस्तावबाट निर्णय भई सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोबर ११ मा यो दिवस मनाउने गरिन्छ । 

सञ्चारीका समूहका अध्यक्ष विमला तुम्खेवाका अनुसार संसारभर बालिकाको अधिकारलाई प्रवर्द्धन गर्ने, बालिकालाई संरक्षण गर्ने, बालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य, बाल विवाह, गरिबी, अशिक्षा र विभेदबाट बालिकालाई मुक्त गराउने जागरण अभियान सञ्चालन आवश्यक रहेको छ । 

नियमित जसो भइरहने बलात्कारका घटना, हिंसा, दुर्व्यवहार, विभेद, एसिड आक्रमण, अनलाइन दुर्व्यवहार जस्ता जघन्य घटनाहरूले बालिकाको शिक्षा, स्वास्थ्य, चौतर्फी विकास, संरक्षण र प्रभावकारी सहभागितामा पारेको नकारात्मक असरलाई अन्त्य गर्न, देशमा विद्यमान ऐन, कानुन, कार्ययोजना, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न यो दिनलाई विशेष कार्यक्रमका साथ मनाउने गरिएको उहाँको भनाइ छ । 

दक्षिण एसियाली मुलुक नेपाल मात्र एक देश हो, जहाँ बालक र बालिकाको उत्तिकै दरले बालविवाह हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको कृपा संस्थाका निर्देशक आनन्द तामाङले बताउनुभयो । सञ्चारीका समूहले पनि विभिन्न साझेदार संस्थाहरूसँग मिलेर बालविवाह अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दैआएको छ । 

डा.समीक्षा कोइरालाले बालबालिकाको सानैमा विवाह गरिनुको मुख्य कारण अशिक्षा र चेतनाको अभाव रहेको बताउनुभयो । किशोरी शिक्षामा सरकारले जोड दिएमा बालविवाहको घटनामा न्यूनीकरण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

Author
दीपा चाैधरी

उहाँ सुरक्षासँग सम्वन्धित रहेर रिपोर्टिङ गर्नुहुन्छ ।