नवराज नेपाली
गलकोट (बागलुङ), वैशाख ८ गते । विसं २०५७ मा १४१ लिटर दुधको कारोबार गर्दै स्थापना भएको एक सहकारी अहिले दैनिक तीन हजार पाँच सय लिटरको कारोबार गर्ने भएको छ । यस आधारमा उसको कारोबार रकम पनि बढेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड वार्षिक झन्डै १० करोड रुपियाँको कारोबार गरेर ठुलो संस्थाका रूपमा चिनिएको छ ।
सहकारीमार्फत दुध सङ्कलन, प्रशोधन र बजारीकरणमार्फत बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकाका किसानले दुध बेचेरै आर्थिक वर्ष २०८१/८२ मा मात्रै आठ करोड ९३ लाख बढी रकम गाउँ भित्र्याएका छन् ।
बागलुङलाई दुधमा आत्मनिर्भर गराउन उल्लेख्य भूमिका खेल्दै आएको सहकारी सङ्घ स्थापनाकालमा पाँच वटा दुग्ध उत्पादक सहकारी संस्था मिलेर बनेको थियो । अहिले सङ्घमा १५ उत्पादक सहकारीका झन्डै एक हजार पाँच सय किसानले दैनिक दुध दिने गरेका छन् ।
किसानको दुधको बजारको ग्यारेन्टी, पशुधन बिमा, अनुदान, स्वास्थ्य उपचारलगायतका कारण किसान सहकारीमा आबद्ध भएर गाउँमा रकम भित्र्याइरहेका छन् । सङ्घले पछिल्लो समय दुधसँगै दुग्धजन्य अन्य पदार्थको समेत बजारीकरण गर्दै आएको छ । सङ्घले उत्पादन गरेको छुर्पी अन्तर्राष्ट्रिय बजारमा समेत पुग्ने गरेको छ ।
“२४ वर्षअघि १४१ लिटर दुध लिएर बजारमा पठाउँदा बिक्री नै भएन । न अहिले जस्तो भण्डारणको व्यवस्था थियो न त त्यतिबेला दही, छुर्पी र अन्य परिकार बन्थ्यो,” संस्थापक उपाध्यक्ष ओमनाथ सापकोटाले स्मरण गर्दै भन्नुभयो, “बिक्री नभएको दुध, नालीमा बगाइन्थ्यो, पहिला सहकारीको दुध कसैले किन्दैनथे, क्रमशः बजारसमेत विस्तार भयो । समय बदलियो, अहिले दुध भनेकै बागलुङ उत्पादक सहकारीको हो भन्ने ब्रान्ड भइसक्यो ।” उहाँका अनुसार सहकारीमार्फत सहरको पैसा गाउँ पठाउने, रोजगारी सिर्जना गर्ने र बजारको ग्यारेन्टी गर्ने काम भइरहेको छ ।
हरेक उपभोग्य वस्तु सहरबाट खरिद गर्दा गाउँको रकम सहर पुगेको सन्दर्भमा यहाँका दुग्ध उत्पादक किसानले भने सहरको करोडौँ रकम गाउँ भित्र्याउन सफल भएका छन् ।
बागलुङका किसानले दुध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेपछि दुधमार्फत आत्मनिर्भरतातर्फ अग्रसरता रहेका छन् । तीन पालिकाका १५ सहकारीका एक हजार चार सयभन्दा बढी किसानले एक वर्षमै आठ करोड ९३ लाख ३६ हजार गाउँमा भित्र्याउन सफल भएका हुन् ।
उत्पादित दुध सहकारीमार्फत सङ्कलन, प्रशोधन र बजारीकरणको ग्यारेन्टीले किसानलाई सहज भएको बानपा–७ का किसान जयराम जैसीले जानकारी दिनुभयो । बजारको ग्यारेन्टीले दुग्ध किसान हौसिएर उत्पादनसमेत बढाउँदै लगेका छन् ।
बजार मात्रै सुनिश्चित नभएर पशुधन बिमा, उपचार, अनुदान तथा नगद अनुदानले उत्साहित भएको जैसीले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका १४ वटा दुग्ध सहकारीमा आबद्ध रहेकोमा गत वर्षदेखि जैमिनी नगरपालिकाको पञ्चदेव कृषि तथा दुग्ध सहकारी थपिएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार वार्षिक एक करोड बराबरको कारोबारमा वृद्धि भइरहेको छ ।
सहकारीमा आबद्ध किसानले गत आर्थिक वर्षमा उत्पादनका आधारमा प्रतिलिटर पाँच रुपियाँका दरले ३७ लाख रुपियाँ नगद रकम बुझेको भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।