टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख ८ गते । गर्मी बढेसँगै गुल्मीका विभिन्न वन क्षेत्रमा आगलागीका घटना बढ्दै गएका छन्। रेसुङ्गाको गौशाला नजिक साउने र फुलबारी वन क्षेत्रमा तीन दिनदेखि आगलागी भइरहेको छ। धुर्कोट, गुल्मीदरबार, इस्मा, मुसिकोट लगायतका स्थानीय तहका विभिन्न जंगलमा पनि आगलागी भइरहेका छन्।
जिल्लामा सोमबारसम्म १३ वटा वन क्षेत्रमा आगलागी भइसकेको छ। डिभिजन वन कार्यालय गुल्मीका अनुसार हालसम्म ५४० हेक्टर वनक्षेत्र आगलागीबाट नष्ट भएको छ।
जिल्लामा १८ हजार २ सय २३.८८ हेक्टर क्षेत्रफलमा फैलिएका ४५८ वटा सामुदायिक वन रहेका छन्। सिनियर फरेस्टर कमल रेग्मीका अनुसार धुर्कोट, मुसिकोट र रेसुङ्गाका वनक्षेत्र सबैभन्दा बढी जोखिममा छन्। आर्थिक वर्ष २०८१/०८२ मा १०५ हेक्टर वन क्षेत्र जलेको थियो भने २०७९/०८० मा ८९ स्थानका करिब दुई हजार ४२ हेक्टर वनमा आगलागी भएको थियो।
अधिकांश आगलागी मानवीय कारणबाट हुने गरेको बताइएको छ। पछिल्लो तीन वर्षमा आगजनीमा संलग्न दुई जनाविरुद्ध मुद्दा चलाइएको र चार जनालाई सचेत गराएर छाडिएको रेग्मीले जानकारी दिनुभयो। आगलागी नियन्त्रणका लागि डिभिजन वन कार्यालयले साढे दुई महिनाका लागि पाँच सदस्यीय अग्नि नियन्त्रण दस्ता खटाएको छ। जिल्लामा उपल्लो तम्घास, गौडाकोट, रिडी, रुपाकोट, वस्तु र पुर्कोटमा सब–डिभिजन कार्यालय रहेका छन्।
स्थानीय तहसँग वन व्यवस्थापनको पूर्ण अधिकार नहुँदा संरक्षण, व्यवस्थापन तथा आगलागी नियन्त्रणमा समस्या भएको धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताउनुभयो।
वन क्षेत्र बस्ती नजिकै भएकाले आगलागी हुँदा ठूलो जोखिम हुने गरेको छ। पहाडी भूगोल, पानी तथा जनशक्तिको अभावका कारण वनको आगो बस्तीमा पस्ने गरेको स्थानीयको भनाइ छ।
२०७३ वैशाख १८ गते नजिकैको सामुदायिक वनबाट फैलिएको आगोले मुसिकोट नगरपालिका–४, दजाकोटमा ५७ घर र ७० गोठ जलेर नष्ट भएका थिए। यस्तै, २०८१ सालमा इस्मा गाउँपालिका–२ र ४ मा वनको आगो बस्तीमा पस्दा ४८ घरगोठ जलेर ठुलो क्षति भएको थियो। ती क्षेत्रमा अझै पनि जोखिम कायमै रहेको छ।
यसैबीच, पछिल्लो समय विभिन्न स्थानमा भएका आगलागी घटनामा ५८ घरगोठमा क्षति पुगेको छ। गत चैत २६ गते रुरुक्षेत्र गाउँपालिका–४, लामडाडामा अनन्तराम ज्ञवालीको गोठ जलेर नष्ट भएको थियो। चैत ९ गते सोही वडाको रानीबासमा कपिल श्रेष्ठको गोठ पनि आगलागीबाट पूर्ण रूपमा नष्ट भएको थियो। यस्तै, चैत २५ गते कालिगण्डकी गाउँपालिका–७, धुवाखोलामा टेकबहादुर थापाको गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गुल्मीमा पछिल्लो नौ महिनामा ५८ वटा आगलागीका घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आगलागीबाट दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। साउनदेखि चैतसम्म आठ घर र २७ गोठ जलेका छन्। आगलागीका कारण २८ पशुचौपायको मृत्यु भएको छ भने दुई वटा सवारीसाधनमा क्षति पुगेको छ। कुल क्षति करिब ५० लाख रुपियाँभन्दा बढी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो।