• ८ वैशाख २०८३, मङ्गलबार

दुई सय वर्ष पुरानो मन्दिर पुनर्निर्माण सुरु

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख ८ गते । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको ऐतिहासिक मलमलादेवी मन्दिरको पुनर्निर्माण थालिएको छ । 

पुरानो मन्दिर अत्यन्तै जीर्ण भएकाले करिब ४० लाख रुपियाँ लगानीमा मन्दिर पुनर्निर्माण थालिएको हो । सैनामैना नगरपालिका र लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा मन्दिर पुनर्निर्माण सुरु भएको एक वर्षभित्रै सम्पन्न गर्ने गरी सम्झौता भएको छ । 

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले दुई सय वर्ष पुरानो यो मन्दिर अत्यन्त जीर्ण र सानो भएकाले भक्तजनलाई पूजा गर्नसमेत समस्या परेकाले नयाँ मन्दिर पुनर्निर्माण थालिएको बताउनुभयो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम पाण्डेले मन्दिरको ४० लाख रुपियाँ लगानीमा पुनर्निर्माण गर्न सुरु भएको बताउनुभयो । 

रुपन्देहीको सैनामैना नगरपालिका–६, चुरे पहाडको काखमा रहेको मलमला मन्दिर थारू जातिको संस्कृतिसँग जोडिएको छ । स्थानीय थारू समुदायका अनुसार यो क्षेत्रमा करिब दुई सय वर्षअगाडि घनाजङ्गल थियो । वन्यजन्तुले स्थानीयलाई दुःख दिएपछि थारू समुदायले मलमल चौरा भन्ने देवीको मूर्ति स्थापना गरेपछि जङ्गली जनावरको दुःख हटेको बुढापाकाले बताउने गरेका छन् । 

सैनामैना नगरपालिका–८ का वडाध्यक्ष बुद्धिराम चौधरीका अनुसार थारू समुदायका अगुवा गुरुवाले जङ्गली जनावरले दुःख दिएपछि मलमल कपडामा बाँधेर लगेको चामलबाट खिर पकाएर देवीलाई चढाएपछि जङ्गली जनावरको दुःख हराएको जनविश्वास छ । त्यहाँ अहिले पनि थारू समुदायले आलोपालो गरी जेठ महिनामा मलमल चौराबाबाको पूजा गर्ने गर्छन् । 

पछिल्लो समय थारू समुदायका मात्रै होइन अन्य जातजातिका समुदायले समेत मलमलादेवीको पूजा गर्ने तथा बडादसैँ र चैते दसैँमा गरेको भाकल पूरा हुने भन्दै बलि चढाउने प्रचलन रहेको छ । मलमला मन्दिरमा बडादसैँ, तिहार र चैते दसैँलगायतका पर्वमा भाकल गरेकाले बलि चढाउन ठुलो भिड लाग्ने गरेको छ ।