शिवालय समाचारदाता
शिवालय (जाजरकोट), वैशाख ८ गते । जाजरकोट र सुर्खेतको सिमाना एउटा लाँकुरीको रुखले छुट्याएको छ । उक्त रुखले जाजरकोटको शिवालय गाउँपालिका र सुर्खेतको चिङ्गाड गाउँपालिकालाई छुट्याएको हो । रुख भएको स्थान जाजरकोटको शिवालय गाउँपालिका–५ र सुर्खेतको चिङ्गाड गाउँपालिका–३ पर्छ ।
शिवालयका स्थानीयवासीका अनुसार करिब ४० वर्षअघि रोपिएको उक्त रुखले अहिले दुई जिल्लाको सिमाना छुट्याउने र चिनाउने काम गरेको छ । सो रुखलाई स्थानीयले ‘लाकुरी’ नामले चिन्ने गरेका छन् । करिब ४० वर्षअघि साबिक जाजरकोटको थालारैकर–६, टाटाका नरे बुढाले सो रुख रोपेको स्थानीयको भनाइ छ । दुई जिल्लाको सङ्गमस्थल भएकाले सबैले विश्राम गर्ने चौताराका रूपमा प्रयोग गर्न सकियोस् भनेर बिरुवा रोपिएको शिवालय गाउँपालिका–५ का बासिन्दा भैरव केसीले बताउनुभयो । उहाँका अनुसार चिउँदुवा लेक क्षेत्रमा पुर्खादेखि नै गोठ गर्ने चलन रहेकाले गाई, भैँसी र बाख्रा चराउन जाँदा गोठाला एकै ठाउँमा भेला भई बस्न सजिलो होस् भन्ने उद्देश्यले रुख रोपिएको हो ।
त्यतिबेला सो स्थानमा पानीको अभाव निकै भएकाले करिब तीन/चार किलोमिटर टाढा पर्ने साबिक सुर्खेतको मटेला गाविसस्थित बन्चरेबाट पानी बोकेर ल्याई रुखमा हालेर हुर्काइएको भनाइ छ । दुई जिल्लाको सिमाना छुट्याउने स्थान ‘चिउँदुवा’ (जहाँ रुख रोपिएको ठाउँ) एक समय व्यापारिक केन्द्रका रूपमा समेत परिचित थियो । करिब चार/पाँच वर्षअघिसम्म त्यहाँ घरायसी आवश्यकताका सामग्री किनबेच गर्न मानिसको ठुलो भिड लाग्ने गथ्र्याे । त्यहाँ सानो बजारसमेत थियो तर पछिल्लो समय त्यहाँको बजार बिस्तारै अन्यत्र सर्दै जाँदा व्यापारिक गतिविधि घट्दै गएको शिवालय गाउँपालिका–३ का तिलक थापाले बताउनुभयो ।
यस्तै शिवालय–५ का वडाध्यक्ष गोपाले दमाईंले स्थानीयले सो रुखलाई लाकुरी नामले चिन्ने गरेको बताउनुभयो । उहाँले त्यहाँ बस्ने स्थानीयले रुखवरिपरि श्रमदान गरेर चौतारासमेत निर्माण गरेको बताउनुभयो । सुर्खेत आउने/जाने जाजरकोटका शिवालयलगायत यस आसपासका स्थानीय यही सिमानाको रुख भएर जाँदा दुरी छोटो पर्ने बताउँछन् । सिमानाको रुखमा एकछिन बसेर उनीहरू आफ्नो गन्तव्यमा लाग्ने गरेको वडाध्यक्ष दमार्इंले जनाउनुभयो ।