• ८ वैशाख २०८३, मङ्गलबार

दुई राउन्ड हवाई फायर गरी खैरो हेरोइन कारोबारी पक्राउ

blog

शशिधर पराजुली 
विराटनगर, वैशाख ८ गते ।
मोरङमा ठुलो परिमाणको लागु औषधसहित एक व्यक्तिलाई प्रहरीले हवाइफायर गरी पक्राउ गरेको छ । सोमबार राति रतुवामाई नगरपालिका–१, हटिया क्षेत्रमा प्रहरीले दुई राउन्ड हवाइ फायर गरी स्थानीय रतुवामाइ नगरपालिका-१, सोनापुरका २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ लागु औषध भित्रिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले उनलाई घेराउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) कवित कट्वालका अनुसार, भारतीय नम्बर प्लेटको बिआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकलमा सवार मियाँले प्रहरी टोलीलाई देख्नासाथ भाग्ने प्रयास गरेका थिए । उनलाई रोक्न र नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कैलाश लिम्बूले आफ्नो चाइनिज पेस्तोलबाट दुई राउन्ड हवाई फायर गर्नुभएको थियो ।

प्रहरीको फायरपछि रोकिएका मियाँको खानतलासी गर्दा ४७५ ग्राम ८२० मिलिग्राम (करिब आधा किलो) खैरो हेरोइन बरामद भएको एसपी कट्वालले जानकारी दिनुभयो । बरामद गरिएको लागु औषधको परिमाण र बजार मूल्य निकै उच्च रहेको बताइएको छ ।

पक्राउ परेका मियाँलाई हाल इलाका प्रहरी कार्यालय सिजुवामा राखेर लागु औषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा बढ्दो लागु औषध तस्करी नियन्त्रण गर्न प्रहरीले पछिल्लो समय सक्रियता र कडाइ बढाएको छ ।