• ८ वैशाख २०८३, मङ्गलबार

क्षतिग्रस्त बिपी राजमार्ग

पुनर्निर्माण सम्पन्न भएपछि यातायात सहज हुने विश्वास

blog

पुनर्निर्माण भइरहेको बिपी राजमार्गमा काम गर्दै कामदार । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, वैशाख ८ गते  । बाढीका कारण पूर्वी पहाडी तथा तराईका जिल्ला जोड्ने बिपी राजमार्ग अन्र्तगत १ नम्बर पुल (भकुन्डे) देखि सिन्धुलीको नेपालथोकसम्मको २८ किलोमिटर सडक क्षतिग्रस्त भएको डेढ वर्ष भइसक्दा पनि पुनर्निर्माणको कामले पूर्णता पाउन सकेको छैन । विशेष गरी वर्षायामको समयमा यात्रुले जोखिम मोलेर यात्रा गरिरहेको अवस्था छ । विसं २०८१ असोज १०–१२ गते आएको बाढीपहिरोका कारण सबैभन्दा बढी काभ्रेपलाञ्चोक खण्डतर्फ २५.११ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । 

बाढीपहिरोले क्षति पुगेपछि तत्कालका लागि सुचारु गर्न राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म खोला किनारैकिनार डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको छ । कतै खोलाको किनार त कतै खोलाको बिचबाट डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएकाले बनेपा, पनौती, नमोबुद्ध, बेथानचोकमा वर्षा भएसँगै रोसी खोलामा पानीको बहाब बढ्न जाँदा घण्टाँैसम्म सवारी आवागमन बन्द हुने गर्छ । 

बाढीबाट क्षति पुगेको १ नम्बर पुल (भकुन्डे) देखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सिमाना बर्खेखोलासम्म डेडिकेटेड डबल लेन स्ट्यान्डर्ड रोड निर्माणको काम भइरहेको सडक डिभिजन भक्तपुरले जनाएको छ । सडक डिभिजन भक्तपुरका डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले बाढीले क्षति पुगेको बिपी राजमार्ग अन्र्तगत काभ्रेपलाञ्चोकतर्फ तीन वटा प्याकेजमा काम भइरहेको छ भने एउटा प्याकेजको काम सुरु हुने चरणमा रहेको बताउनुभयो । उहाँले निर्माणाधीन सडकमा आगामी वर्षायाम अगावै स्ट्रक्चर निर्माण कार्य सम्पन्न गरी कम्तीमा ग्राभेलस्तरसम्म निर्माण गरी यातायात सञ्चालन गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताउनुभयो । 

चार खण्डमा पुनर्निर्माणको काम 

हाल राजमार्गको पिप्लेदेखि डालाबेँसीसम्मको २.३ किलोमिटर सडक, डालाबँेसीदेखि चार सयबेँसीसम्मको ८.५ किलोमिटर र चार सयबँेसीदेखि भकुण्डेबेँेसीसम्मको ११ किलोमिटर सडक पुननिर्माण भइरहेको छ । सडक डिभिजनका अनुसार हालसम्म पिप्लेदेखि डालाबेँसीसम्ममा २४ प्रतिशत, डालाबेँसीदेखि चार सयबेँसीसम्म ३२ प्रतिशत र चार सय बेँसीदेखि भकुण्डेबेँसीसम्मको खण्डमा ३० प्रतिशत काम सम्पन्न भएको छ । हाल बाटो दुई लेन चौडा गर्ने, टेवा पर्खाल, आरसिसी पर्खाल, ढुङ्गाको पर्खाल, ‘ग्याबिन’ पर्खाल, ‘प्लम्प वाल’ लगाउने काम भएको छ । उक्त खण्ड पुनर्निर्माणका लागि जाइकासँग करिब साढे दुई अर्ब रुपियाँको सम्झौता भएको सडक डिभिजनले जनाएको छ । 

वर्षासँगै सवारी आवागमन बन्द 

राजमार्ग पुनर्निर्माणको काम अघि बढाइए पनि बर्सातका कारण पुनर्निर्माणले गति लिन सकेको छैन । सडक विभागका प्रवक्ता उपमहानिर्देशक श्यामबहादुर खड्काले खोला किनारमा बनाइएका अस्थायी डाइभर्सन बर्सातसँगै बग्दा यातायात अवरुद्ध हुँदै आएको बताउनुहुन्छ । खोलाको माथिल्लो भेगमा वर्षा हुँदा डाइभर्सन सडक बगाउने हुँदा सवारी आवागमन प्रभावित बन्दै आएको छ ।

सडक डिभिजन भक्तपुुरका इन्जिनियर शङ्कर खनालले रोसी किनारबाहेक अन्य स्थानबाट डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गराउन सक्ने अवस्था नरहेकाले माथिल्लो क्षेत्रमा वर्षा हुँदा डाइभर्सन सडकमा क्षति पुग्ने बताउनुभयो । उहाँले बाढीका कारण हुन सक्ने जोखिम कम गर्नका लागि स्थानीय प्रशासनको सहयोगमा सुरक्षित स्थानमा सवारीसाधन ‘होल्ड’ समेत गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । 

रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले समान्य वर्षामा पनि डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने बताउनुभयो । उहाँले वर्षायाममा हुन सक्ने जोखिम हटाउन सडक डिभिजन, निर्माण व्यवसायीलगायतलाई तीव्र गतिमा काम गर्न पालिकाले अनुरोध गरिरहेको बताउनुभयो । उहाँले अहिलेको कामको गति हेर्दा वर्षाअघि पिप्लेदेखि बर्खेखोलासम्मको सडक खण्डबाहेक अन्य खण्डमा साबिकको स्थानबाट सवारी सञ्चालन हुने अवस्था रहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीले कठिन स्थानमा पर्खाल लगाएर ग्राभेल गरी साबिकको स्थानबाट सवारी सञ्चालन गर्न सके वर्षायाममा सवारी आवागमन बन्द नहुने बताउनुभयो । 

सडक विभागका प्रवक्ता उपमहानिर्देशक खड्काले गत वर्षको बाढीका कारण राजमार्गमा क्षति पुगेपछि बाढीले गर्न सक्ने क्षतिको अध्ययन गरेर सडक पुनर्निर्माणको डिजाइन गरेर काम अघि बढाइएको बताउनुभयो । उहाँले सडक पुनर्निर्माणको काम सम्पन्न भएपछि यात्रुहरूले अहिलेको जस्तो समस्या भोग्नु नपर्नेे विश्वास व्यक्त गर्नुभयो । “राजमार्ग पुननिर्माणको काम सम्पन्न नभएसम्म अहिलेको समस्याबाट मुक्त हुन सकिने अवस्था छैन” इन्जिनियर खनालले भन्नुभयो । उहाँले वर्षाअघि जोखिमपूर्ण स्थानमा छदेखि ११ मिटर उचाइको पर्खाल लगाई ग्राभेल गरी उक्त स्थानबाट यातायात सञ्चालन गराउन सके अहिले जस्तो समस्या भोग्न नपर्ने बताउनुभयो । रोसी गाउँपालिकाका अध्यक्ष लामाले राजमार्ग पुननिर्माण भएपछि यातायात नियमित सुचारु हुने बताउनुभयो । 

पूर्वी पहाड र तराई जोड्ने वैकल्पिक सडक 

राजधानी काठमाडौँलाई तराईसँग जोड्ने बनेपा–सिन्धुली–बर्दीबास सडक योजना सन् १९६० तिर कल्पना भई केही भागमा कामसमेत थालनी भएपनि त्रिभुवन राजपथको निर्माणपछि यस सडक निर्माण कार्य स्थगित भएको थियो । विसं २०५० को भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्ग व्यापक क्षति भई जनजीवन अस्तव्यस्त भएपछि नेपाल सरकारले यो सडकलाई वैकल्पिक मार्गका रूपमा विकास गर्ने सोच अनुरूप जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट निर्माण कार्य सुरु गरेको थियो । उक्त राजमार्ग जापान सरकारले २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।