अमरराज नहर्की
तनहुँ, वैशाख ८ गते । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) को निर्माण कार्य सम्पन्न भएको छ । ४१ किलोमिटर लम्बाइको यस सडकखण्डमा स्तरोन्नति सौन्दर्यकरण र कालोपत्रेका सबै मुख्य कामहरू पूरा भएको आयोजनाले जनाएको छ ।
आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आयोजनाले लक्ष्यअनुसार नै पूर्वी खण्डको काम सम्पन्न गरेको जानकारी दिनुभयो । “सडकको मुख्य भाग निर्माणको काम पूर्ण रूपमा सम्पन्न भइसकेको छ, “पाण्डले भन्नुभयो, “अहिले मर्मतसम्भार अवधिअन्तर्गत फुटपाथ नमिलेका केही ठाउँहरू मिलाउनेकाम भइरहेको छ ।’’ एशियाली विकास बैंकको ६ अर्ब ३१ करोड रुपियाँ ऋण सहयोगमा चिनियाँ निर्माण कम्पनी चाइना कम्युनिकेसन कम्पनी लिमिटेडले यो खण्डको निर्माण गरेको हो । सडक पुरा भएकोले सङ्घीय सरकारलाई हस्तान्तरण गरिसकिएको पाण्डे बताउनुहुन्छ ।
वि.सं. २०७७ माघ १७ मा ठेक्का सम्झौता भएर सुरु भएको यो आयोजनाले साढे तीन वर्षको अवधिमा महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । बजार क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेनमा विस्तार गरिएको यो सडक नेपालकै ‘नमूना सडक’ का रूपमा विकसित भएको आयोजनाको दाबी छ । सडक विस्तारसँगै ट्राफिक संकेत, रङरोगन र सुरक्षाका मापदण्डहरू समेत पूरा गरिएकाले यस खण्डमा सवारी यात्रा सहज र सुरक्षित बनेको छ ।
मादी पुल निर्माण ८३ प्रतिशत पूरा
यसैबिच दमौलीस्थित मादी नदीमा निर्माणाधीन चार लेनको पुलको काम भने अन्तिम चरणमा पुगेको छ । पाण्डेका अनुसार मादी पुलको भौतिक प्रगति हालसम्म ८३ प्रतिशत पुगेको छ । मादी नदीमा निर्माण भइरहेको यो पुल यस सडक खण्डकै सबैभन्दा महत्त्वपूर्ण र जटिल संरचना हो ।
पुलको मुख्य पिलर र स्पानका कामहरू धेरैजसो सकिएका छन् भने अहिले ‘सुपर स्ट्रक्चर’ को काम भइरहेको छ । यो पुल सम्पन्न भएपछि दमौली बजारको सवारी जाम हट्ने र पोखरा–मुग्लिङ यात्रा थप छिटो हुने अपेक्षा गरिएको छ । पुलको बाँकी काम चालु आर्थिक वर्षभित्र पुरा गर्ने गरी तदारुकताका साथ काम भइरहेको आयोजनाले जनाएको छ ।